ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एक दिनमा ४१ अर्ब भुक्तानी

काठमाडौं,असार २६ । सामान्य दिनमा ३–४ अर्ब रुपैयाँ मात्र भुक्तानी दिने गरेको सरकारले आइतबार भने एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था भएकाले आइतबार हतारहतारमा त्यति रकम भुक्तानी दिइएको हो।

आर्थिक वर्षको अन्त्यमा बिल भौचर पनि नहेरिकन आपसी मिलेमतोमा पछि मिलान गर्नेगरी हतारहतारमा भुक्तानी गरी अनियमितता र बदमासी हुने गरेको आलोचना हुँदै आए तापनि यस वर्ष पनि वर्षान्तमा अस्वाभाविक भुक्तानी दिइएको हो।

कतिपय आयोजनामा ठेकेदारसँग मिलेमतोमा हिसाब मिलान गर्न अन्तिम दिनतिर मात्र भुक्तानी दिने आरोप लाग्दै आएको छ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीको पालनामा सरकार र मातहतका निकायलाई विगतदेखि नै नजरअन्दाज गर्दै आएको छ।

आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व ऐन २०७६ तथा नियमावलीले आर्थिक वर्षको अन्तिम साता बजेट भुक्तानी दिन नहुने उल्लेख गरिएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत जेठ मसान्तसम्ममा सरकारको बजेट खर्च ११ खर्ब ७६ अर्ब रुपैयाँबराबर थियो।आइतबार बजेट खर्चको अन्तिम दिनसम्म आइपुग्दा खर्च १३ खर्ब ३३ अर्ब ७ करोड ४२ लाख रुपैयाँ नाघेको छ।

असारमा मात्रै सरकारले १ खर्ब ६० अर्ब १ करोड ९२ लाख रुपैयाँ बजेट भुक्तानी दिएको छ।जेठमा पनि सरकारले १ खर्ब ३० अर्ब ९६ करोड ३३ लाख भुक्तानी दिएको थियो।गत वैशाखमा भने १ खर्ब ४६ अर्ब ९५ करोड भुक्तानी दिएको थियो।सरकारले चैतमा भने १ खर्ब १९ करोड भुक्तानी दिएको थियो।

यो समाचार राजधानी दैनिकमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *