नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं भदौं ३१ । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आजबाट सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने भएको छ ।
विज्ञप्ति जारी गर्दै संघले आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने जनाएको हो ।
भदौ २७ गते बिरामीको विषयलाई लिएर सन्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि आक्रमण भएको थियो ।
सङ्घले हेटौँडा अस्पताल घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजिएको आरोप लगाउँदै सम्बन्धित निकाय माथि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न समेत माग गरेको छ ।