नेपाली जनताको वृहत्तर हितमा समर्पित रहन प्रधान सेनापतिको निर्देशन

काठमाडौं भदौं २४ । प्रधान सेनापति प्रभुराम शर्माले सैन्य संगठन आजको भोलि तयार गर्न सकिने विषय नभई लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिदै सवल र सुदृढ हुँदै जाने संगठित र अनुशासित समूह भएको एवं सुदृढ र सुसज्जित सेनाको निर्माण कार्य निरन्तरको प्रकृया भएकोले दिनानुदिन विकास हुँदै जाने नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीहरुले गर्दा यो कार्य सदैव चलिरहने कुरा बताएका छन् ।
प्रधान सेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पुरा भएको अवसरमा आज मिति २०८० भाद्र २४ गते नेपाली सेनालाई सम्बोधन गर्दै प्रधान सेनापतिले यस्तो बताएका हुन् । उनले नेपालको एकीकरण अभियानको थालनीदेखि आजको दिनसम्म नेपाली सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाई राख्न अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको कुरा स्मरण गराउँदै सामुहिक प्रयासबाट नेपाली सेनाले आर्जन गरेको गरिमा र स्थापित गरेको जनविश्वासको लागि सकलदर्जा लगायत नेपाली सेनामा कार्यरत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यबाद व्यक्त गरे ।
तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी असामयीक तर्क उठाई स्थिर माहोललाई खल्बल्याउने कुनैपनि स्वार्थ प्रेरित समूह तथा क्षणिक वा दुरगामी असर पार्नसक्ने योजनाबद्ध प्रायोजित अभिलाषाप्रति सदैव सजग र सतर्क रहँदै नेपाल र नेपाली जनताको वृहत्तर हितमा समर्पित रहन निर्देशन दिएका छन् ।