ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साहसिक पर्यटन पर्यटनमा सरकारले कुनै चासो नदेखाउँदा ब्यवसाय नै धरापमा परेको ब्यवसायीको गुनासो

काठमाडौं,जेठ ८। पछिल्ला दुई दशकमा नेपालको पर्यटन क्षेत्रले अनेक आरोह–अवरोहबीच साहसिक पर्यटनका गतिविधिलाई नयाँ उचाइ दिएको छ । नेपाल विश्वव्यापी रूपमा उच्च आकर्षक गन्तव्यहरूको सूचीमा पर्ने गरेको छ । त्यसको कारण नेपालको प्रकृति र संस्कृतिसँगै प्रमुख साहसिक खेल गतिविधिहरू ट्रेकिङ, माउन्टेनियरिङ, राफ्टिङ आदि नै हुन् ।

विश्व पर्यटनमा नेपालको नौलो स्थान सुरक्षित गर्नसमेत साहसिक पर्यटकीय गतिविधिले सहयोग गरिरहेको छ । यसमध्ये पनि एक हो जल पर्यटन । नेपाल साहसिक जल पर्यटनको लागि विश्वमै एक उत्कृष्ट गन्तव्य हो । विश्वमा र्‍याफ्टिङलाई सुधार गर्दै पर्यटक र मनोरञ्जनको आकर्षणमा रूपमा विकास भइरहेपनि नेपालमा भने त्यसको ठीक उल्टो भइरहेको ब्यवसायीको भनाई छ ।

नेपालको नदीमा डलर छरिएको छ तर सरकारले पहिचान गर्न नसक्दा र्‍याफ्टिङजस्तो पेसा ओझेलमा पर्दा पैसा पानीमा बगिरहेको उनीहरु बताउँछन । जलविद्युत आयोजना , ढुङ्गा गिटी बालुवाको उत्खननले गर्दा नदीहरू मासिन थालेको र सरकारी निकायले प्रर्वद्धनका नाममा बजेट छुट्टाइएपनि नियमनकारी निकायको भुमिका भने तलब पचाउने काममात्र हुने गरेको व्यवसायीहरुको आरोप छ । यसले जल पर्यटन व्यवसाय संकटमा परेको नेपाल एसोसि‌‌एसन अफ र्‍याफटिङ एजेन्सीज नाराको भनाई छ ।

त्यस्तै जल पर्यटनमा बढ्दो नदी दोहनले र्‍याफ्टिङ ब्यवसाय धरापमा परेपछि र्‍याफ्टिङ गाईड पनि निराशिएका छन् । पछिल्लो दशक नेपालको जल पर्यटनको तुलनामा अहिले विदेशी पर्यटकको सङ्ख्या कम हुँदै गएको र यो जल पर्यटन ब्यवसायीका लागि चिन्ताको विषय भएको बताएका छन । यसतर्फ सरकारको फिटिक्कै ध्यान नजाँदा स्वदेशी पर्यटकहरूले गर्दा नै जल पर्यटनमा आबद्ध व्यवसायीहरू बाँचेको र कतिपय ब्यवसायी विदेश पलायन भईसकेको बताएका छन । यसमा भरपर्दो आम्दानी र लगानीको सुनिश्चितता भने नभएको उनीहरू बताउँछन । यता नेपाल पर्यटन बोर्डले भने जल पर्यटन नेपालको उत्कृष्ट गन्तब्य भएको र यस क्षेत्रमा योग्दान पुर्‍याउँदै आएको बताएको छ ।

बोर्डले पनि आन्तरिक पर्यटन प्रवर्द्धन रणनीति बनाउने क्रममा पनि जल पर्यटनलाई पनि दिगो र पर्यावरणमैत्री पूर्वाधार विकास गरी जल पर्यटन लक्षित गतिविधि बढाउने गरि समेटेको बताएको छ । त्यस्तै बोर्डले यस सँग सम्बन्धित संस्थाहरुसँग सहमार्य गर्दै रिभर गाईडको तालिम दिँदै जनसक्ति उत्पादन पनि गरिरहेको बताएको छ । साथै उचित खालको जल नीति आएमा नदीहरु पनि नमासिने र विकास निर्माणका कामहरु पनि गर्न सकिने र अन्तराष्ट्रिय रुपमै यस ब्यवसाय फस्टाउने बोर्डले जनाएको छ ।

नेपालका त्रिशूली, कर्णाली र भोटेकोशी जस्ता नदीहरू जल पर्यटनका लागि विश्वकै टप टेन भित्र पर्ने गन्तव्यहरू हुन् । तर, सरकार र सम्बन्धित निकायको पर्याप्त ध्यान नपुग्दा अपेक्षा अनुरूपको विकास हुन सकेको छैन । यस्ता अनगिन्ति सम्भावना भएको साहसिक पर्यटकीय गतिविधिको कानूनी नियमन भने राम्ररी भएको देखिँदैन। कतिपय साहसिक पर्यटकीय खेल गतिविधि जोखिमका रुपमा समेत सञ्चालन भइरहेको देखिन्छ। आन्तरिक पर्यटनका लागि विशेष आकर्षण बनिरहेको त्यस्ता गन्तव्यलाई नियमसंगत रुपमा बढाउन सरकारले ध्यान दिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *