ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नाट्टाको २४ औं अधिवेशन तथा ५६ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौ,जेठ ४ l नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाको २४औं अधिवेशन तथा ५६ औं वार्षिक साधारणसभा काठ्माडौंमा सम्पन्न भएको छ।कार्यक्रममा स्वागत मन्तब्य राख्दै नाट्टाका अध्यक्ष रमेश थापाले सरकारलाई पर्यटन पूर्वाधारको विकास गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराउनुभएको छ।

उहाँले निर्यातजन्य व्यवसायमा दिएकोजस्तै पर्यटन व्यवसायीलाई पनि विदेशी मुद्रा आर्जनको अनुपातमा निश्चित नगद प्रोत्साहन उपलब्ध गराउन र पर्यटन ऐन पर्यटन व्यवसाय मैत्री बनाउनु पर्ने बताउनुभएको छ।उहाँले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गर्न र नेपाल वायुसेवा निगमको पुनर्संरचनाको आवश्यकता रहेको सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ।

साथै पर्यटन व्यवसायीलाई डलर आम्दानीमा निश्चित ‘क्यासब्याक’ दिने व्यवस्था गर्नुपर्नेमा समेत जोड दिँदै उहाँले पछिल्लो समय बंगलादेशबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएकाले त्यहाँको मुद्रा टाकाको सटही सहज बनाउनुपर्ने बताउनुभयो।राष्ट्र बैंकले दिइरहेको पुनर्कर्जालाई निरन्तरता दिई व्यवसायीहरुलाई न्युनतम व्याजदरमा ऋण लिने वातावरण बनाउन लगायत मागहरु राख्नुभएको हो।

पर्यटकीय गाडीको इम्बोस्ड नम्बर प्लेट राख्दा हरियो प्लेटको व्यवस्था नभएको भन्दै यस विषयमा मन्त्रिपरिषद्बाट अनुसूची संसोधन गर्नुपर्ने साथै पर्यटकका लागि बस पार्किङका लागि समस्या भएको भन्दै यसमा सहजीकरण गर्न समेत सरकारसँग आग्रह गर्नुभएको छ।

त्यस्तै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन उद्योगमा भएका समस्या समाधानका लागि मन्त्रालय तत्काल अग्रसर हुने बताउनुभयो।उहाँले विदेशीको सिको नगरी आफ्नै मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्नुपर्नेमा समेत जोड दिनुभयो।उहाँले नयाँ जहाज किन्न लागेको र किन्दा भ्रष्टाचार नहुने दाबी गर्नुभएको छ।

१८ वटा आन्तरिक विमानस्थलका लागि नयाँ जहाज किन्न लागिएको भन्दै उहाँले नयाँ जहाज किन्दा भ्रष्टाचार नहुने दाबी गर्नुभएको हो।उहाँले नेपाल वायुसेवा निगमले बजार हस्तक्षेप गर्न नसकेकाले बजारमा टिकट महँगो भएको समेत बताउनुभयो।साथै उहाँले २३ जुनदेखि पोखराबाट चीनका विभिन्न सहरमा फ्लाइट सुरू हुन लागेको र १२ जुन देखि पनि मलेसियाबाट भैरहवा फ्लाइट सुरू हुन लागेको बताउनुभयो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थ, गृह तथा पर्यटन मन्त्रालयबीच समन्वय नहुँदा सडक मार्गबाट आउने पर्यटकहरू समस्यामा पर्ने गरेको बताउनुभयो।उहाँले यस्तो समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ।

त्यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटनमा धेरै समस्या भएपनि समस्या समाधान गर्न गाह्रो नभएको बताउनुभयो।उहाँले निजी क्षेत्रको समेत सहभागीतामा सरकारी निकायको सक्रियता भएका पर्यटनका समस्या समाधान गर्न सकिने उल्लेख गर्नुभयो।

पर्यटकीय दृश्यावलोकन गरिने ठाउहरुको प्रवेश शुल्कलाई एक द्वार प्रणालि मार्फत अनलाईन बाटै लिन सकिने व्यवस्था सरकारले गराउनुपर्ने नाट्टाले जनाएको छ।कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि सक्रिय भएका केही व्यक्तिहरूलाई विभिन्न विधामा अवार्ड तथा सम्मान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *