ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदमा जुहरी,सांसद भन्छन – टिकट काटेर बसेका छौं

काठमाडौं,वैशाख २४ । आइतबारबाट संसदको बजेट अधिवेशन सुरु भएको छ।बजेट अधिवेशन बजेट निर्माणमा केन्द्रित हुने भनेपनि नक्कली शरणार्थी प्रकरणका कारण बजेट अधिवेशनको पहिलो बैठक नै सभामुखलाई सम्हाल्न धौ परेको छ।प्रतिनिधि सभाको बैठकको सुरुमै विभिन्न दलका सांसदहरूले बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेलाई सांसदहरूलाई सम्झाउन करिव ५ मिनेट खर्च गर्न पर्यो।

सभामुखले बैठक सुरु गर्न दिन आग्रह गर्दैं पटक पटक सम्झाएपछि मात्र संसद बैठक सुरु भएको थियो।बैठक सुरु भएपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदको जुहारी रोचक बन्यो।एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भष्ट्राचारको फाइल खोल्ने विषय ट्रेलरमा भएको विषय उदृत गर्दैं पुरा चलचित्र हेर्न टिकट काटेर बसेको टिप्पणी गरे।

उनले भने -‘प्रधानमन्त्री ज्यूले बाहिर भन्दै हिँड्नुभएको छ भ्रष्टाचार सवालमा यो टेलरमात्रै हो फिल्म त आउँन बाँकी नै भन्दै हिँड्नुभएको छ।सम्माननीय प्रधानमन्त्री ज्यू, हामी फिल्म हेर्न आतुर छौँ,हामी तपाईले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ।टिकट काटेर बसेका छौँ फिल्म देखाउनुस् ।

हामीलाई अव विश्वास छ,वाइडबडी घोटलाकाण्ड के हो ? छानबिन गरौँ, बाँसबारी जग्गा घोटला काण्ड के हो ? बालमन्दिर जग्गा घोटला काण्ड, मातातीर्थ जग्गा घोटला काण्ड,यति काण्ड,ओम्नि काण्ड,लडाकु शिविरका घोटला काण्डमा अरवौ रुपैयाँ राज्यको सम्पत्ति लुटिएको थियो।सिसीटिभी फुटेज र बजेटमा बिचौलिया आएका काण्डहरु यो अधिवेशनमा अव गंभीरताका साथ छलफल गरौँ।यस्ता काण्डमा परेकाहरूलाई एक एक गरेर कारबाही गर्न हामीले अब हिम्मत गर्नुपर्छ।’

पूर्वाग्रह राखेर सत्तापक्षसँग जोडिएकालाई उन्मुक्ति दिने र अन्य मान्छेहरुसँग पूर्वाग्रह साँध्ने दूषित प्रयास भएको उनको आरोप छ।एमालेका सांसदहरुले पुर्वाग्रह साधेको दावी गरेपछि माओवादी केन्द्रका सांसद माधव सापकोटाले टोपबहादुर रायमाझीलाई कानुनी दायरमा ल्याउन एमालेसंग आग्रह गरे।

उनले भने- ‘एमाले भ्रष्टाचारीलाई कारबाही गर्न इमानदार हो भने तपाईँहरू विषयान्तर नगर्नुस्, सम्माननीय प्रधानमन्त्रीले बोल्नुभएका कुरालाई जे खिसीटिउरी गरिराख्नुभएको छ, तपाईँहरूलाई नै त्यसले नाङ्गो बनाइराखेको छ।इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याएर बुझाउनुहोस्,त्यसैमा तपाईँहरूको कल्याण छ।म चुनौती दिन चाहन्छु विषयान्तर गर्ने, खिसिटिउरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्न खोज्ने तपाईँहरूको शैलीलाई राजनीतिक ढंगले प्रस्तुत गरेन।’

यतिमात्र हैन एमाले र राप्रपाका सांसदको जुहारी अझ रोचक बन्यो।नेकपा एमालेका सांसद सूर्य थापाले नक्कली भुटानी शरणार्थी बनेर जान चाहनेहरू पनि अपराधी भएको भनेपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले क्कली शरणार्थी बन्न बाध्य पार्ने दलहरुले उनीहरूलाई कारबाही गर भन्ने भन्दै थापाको भनाईको प्रतिवाद गरे l

थापाको भनाई थियो ‘कोही पनि नक्कली शरणार्थी बनेर जान चाहन्छन् भने उनीहरू पनि अपराधी हुन्।अपराधीका बारेमा रुवावासी नगरौँ।दोषीमाथि कारबाही होस्, निर्दोषलाई नफसाइयोस्।’ त्यपछि साहीले भने – ‘एउटा नागरिकलाई बाध्य पारेर नागरिकता त्यागेर ५०–५० लाख तिरेर शरणार्थी बन्न बाध्य पारिएको छ।

शरणार्थी बन्न बाध्य पार्ने यी दलहरू अहिले तिनीहरूलाई उल्टो तिनीहरूलाई कारबाही गर्नुपर्छ भन्ने ? जोजो संलग्न छन् तिनीहरूलाई कारबाही गरियोस् । जसले भुटानी शरणार्थी बनाउन बाध्य पारे तिनीहरूलाई कारबाही होस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *