ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भेरी-बबईमा भएन लक्ष्यअनुसारको प्रगति


सुर्खेत,असार ८ l विश्वव्यापी कोभिड–१९ महामारीका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको छ।गत आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्नुपर्ने दोस्रो चरण तथा चालु आव २०७८/०७९ मा सम्पन्न गर्नुपर्ने तेस्रो चरण कार्यहरु कोरोना महामारीलगायतका कारणले प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ।

दोस्रो चरणमा बाँध,सर्ज साफ्ट,विद्युतगृह निर्माण तथा तेस्रो चरणमा हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम) सम्बन्धी कार्य पर्दछन्।पहिलो चरणअन्तर्गत टनेल ९सुरुङ० निर्माण कार्य भने निर्धारित समयअगावै सम्पन्न भइसकेको थियो।दोस्रो चरणका सिभिल संरचना निर्माण जारी छन्।

आयोजनाले तेस्रो चरणका हाइड्रोमेकानिकल–इलेक्ट्रोमेकानिकलसम्बन्धी निर्माण एवं जडान कार्य सुरु गरेको छैन।आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनियर लेखनाथ सुवेदीले कोभिड–१९ को असर, नदीमा पानीको बहावको प्रतिकूलता,स्थानीय निर्वाचनलगायतका कारण समयमै सम्पन्न हुनुपर्ने कार्यको दायित्व पछिल्लो समय सरेको बताए। 

“कोरोना महामारीको पहिलो र दोस्रो लहरका कारण धेरै काम प्रभावित हुन पुग्यो, दोस्रो चरणका काम र तेस्रो चरणका काम सँगसँगै अघि बढाएका छौँ”, उनले भने,“खरिद प्रक्रियासँग सम्बन्धित कानूनी जटिलताका कारण पनि तेस्रो चरणको निर्माण एवं जडान कार्यमा ढिलाइ हुन पुगेको छ।”

हाइड्रोमेकानिकलअन्तर्गत गेट तथा पेनस्टक पाइप तथा इलेक्ट्रोमेकानिकलअन्तर्गत टर्वाइन,जेनेरेटर,स्विचार्ड निर्माण कार्य पर्दछन्। आयोजनाका सूचना अधिकारी सुवेदीका अनुसार गेट तथा पेनस्टक पाइप निर्माण कार्यको बोलपत्र आह्वानबाट प्राप्त बोलपत्रको प्राविधिक मूल्याङ्कन स्वीकृत हुन बाँकी छ। 

त्यस्तै हाइड्रोमेकानिकल कार्यका लागि चिनियाँ इञ्जिनियरिङ कम्पनीलाई परिचालन गरिएको छ।इलेक्ट्रोमेकानिकलसम्बन्धी निर्माण कार्यका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ।गत आव २०७७/०७८ मा उक्त दुवै कार्यको खरिद व्यवस्थापन सम्पन्न गर्ने लक्ष्य थियो तर विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरसमेतका कारण प्रभावित हुन पुगेको बताइएको छ। 

आयोजनाको सुरुदेखि २०७९ वैशाख मसान्तसम्म कूल वित्तीय प्रगति ४०.७२ प्रतिशत तथा भौतिक प्रगति ५५.६० प्रतिशत हासिल भएको जनाइएको छ।सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न छ गेजसहितको ब्यारेज निर्माण गरिँदैछ।उक्त ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ।त्यहाँबाट १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरीगङ्गा नगरपालिकाको वडा नं ११ हात्तीखालमा प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई बबई नदीमा खसालिनेछ।जहाँ ४६.८ मेगावाट क्षमताको विद्युत् उत्पादनको तयारी छ। 

सङ्घीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ।यस आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *