दाङका पालिकामा काँग्रेसको बर्चस्व,वडामा एमाले बढी

दाङ,जेठ १२ l दाङका पालिकामा काँग्रेसले बर्चस्व जमाएको छ भने वडामा नेकपा (एमाले) अगाडि छ।दश स्थानीय तहमध्ये काँग्रेसले पाँच,नेकपा (माओवादी केन्द्र) ले तीन र एमालेले दुई स्थानीय तहमा जित हात पारेको छ।दाङका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ।
घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डिसी विजयी हुनुभएको छ भने तुलसीपुर उपमहानगरको नगर प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन्।त्यस्तै काँग्रेसले लमही नगरपालिकासहित राजपुर,दङ्गीशरण,शान्तिनगर र बबई गाउँपालिकामा विजयी हासिल गरेको छ।यी पालिकामा काँग्रेसले प्रमुख र उपप्रमुख दुवै जित हात पारेको हो।
त्यस्तै माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ।यी तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन्।राप्तीको उपप्रमुखमा एमाले,बङ्गलाचुली र गढवाको उपप्रमुखमा काँग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रीतेन्द्रबहादुर थापाले बताए। दाङमा १० स्थानीय तह छन्।
वडामा एमाले धेरै
वडामा भने एमालेले धेरै सिट जितेको छ।एकसय वडा रहेको दाङमा एमाले ४० वडाध्यक्ष जित्न सफल भएको छ।त्यस्तै काँग्रेसले ३७ र माओवादी केन्द्रले १९ वडा जितेको छ।त्यस्तै एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक तथा स्वतन्त्रले दाङमा दुई वडा जितेको छ।
घोराहीमा १३ वडा एमालेले जितेको छ भने पाँच वडा काँग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ।तुलसीपुरमा १९ वडामध्ये १० वडा एमालेले, पाँच वडा काँग्रेस,तीनमा माओवादी केन्द्र र एउटा स्वतन्त्रले जितेको छ। लमही नगरपालिकामा आठ वडा काँग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ।राप्ती गाउँपालिकामा एमालेले चार,माओवादी केन्द्रले दुई, काँग्रेस,जनमोर्चा र एकीकृत समाजवादीले एक÷एक वडा जितेका छन्।
गढवामा माओवादी केन्द्रले चार, एमालेले दुई र कांग्रेसले दुई वडा जितेको छ।दङ्गीशरण गाउँपालिकामा चार वडा एमालेले जितेको छ भने तीन वडा काँग्रेसले जितेको छ।बङ्गलाचुली गाउँपालिकामा चार वडा माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने चार वडा काँग्रेसले विजयी हासिल गरेको छ। बबई गाउँपालिकामा कांग्रेसले चार र एमालेले तीन पालिका जितेको छ।
राजपुर गाउँपालिकामा माओवादी केन्द्रमा तीन एमाले र काँग्रेसले दुई÷दुई वडा जितेका छन्।शान्तिनगरमा काँग्रेसका तीन,एमालेका दुई,माओवादी र स्वतन्त्रता एक/एक वडाध्यक्ष निर्वाचित भएका छन्।(रासस)