प्रदेश एकको नाम जुराउनै गाह्रो : पाच दलका पाँचथरी कुरा

विराटनगर, फागुन १० । प्रदेश एकको नामका विषयमा सहमति जुटाउन बसेको सर्वदलिय बैठक विना निस्कर्ष टुङ्गिएको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले बोलाएको सर्वदलिय बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी थिए भने राप्रपा भने बैठकमा सहभागी भएन ।
सर्वदलिय बैठकमा सहभागि एमाले सांसद तथा प्रदेश १ अध्यक्ष तुलसीप्रसाद न्यौपानेले गठबन्धन भित्र नै नामाकरणका विषयमा प्रष्ट नदेखिएको बताएका छन् । उनले ५ दलको पाँचथरी कुरा आएको भन्दै व्यङ्ग्य गरे । उनको भनाई छ – ‘मुख्य कुरा नै आएन, गठबन्धनका दलहरूबाट केही धारणा आउँछ भन्ने लागेको थियो तर, गठबन्धनका ५ दलको नै ५ वटा कुरा आयो । प्रतिपक्षसँग बहुमत हुँदैन, एमालेसँग बहुमत छैन । सरकारसँग भएको बहुमतले साझा प्रस्ताव बनेर आउँदा हुन्थ्यो ।’
नेपाली कांग्रेसले भने नामाकरणका विषयमा हतार नगर्न आग्रह गरेको छ । एमसिसी हतार गरेर ल्याउदा सडकमा आगो बलेको भन्दैं नामाकरणमा हतार नगर्न आग्रह गरेको छ । बैठकमा सहभागि कांग्रेसका प्रदेश अध्यक्ष उद्धव थापाले पहिचानको विपक्षमा काँग्रेस नभएको बताए । ‘जे नामकरण गरे पनि सबै जातजाति समुदायको अपनत्व हुने गरी अगाडि बढाउनु पर्छ ।‘जसरी एमसीसीको विषयमा अहिले सडकमा आगो बलेको छ, त्यसरी नै नामको विषयमा हतार गरे आगो बल्न सक्छ, छलफल गम्भीर ढंगले अगाडि बढाऔँ ।’
उता माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्वाङले नामाकरण गर्ने अझै ढिला गरे प्रदेशसभा विफल हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे । नामाकरणमा सरकारले पहल गर्नु पर्ने र त्यसमा प्रतिपक्षीको सहयोगि भूमिका हुनेमा उनको विश्वास छ ।