ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चितवनमा सात महिनामा ३० जना बेपत्ता


चितवन,फागुन ४ l जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कमा आउन सकेका छैनन्।प्रहरी निरीक्षक कमला नरालका अनुसार हराएका २७० मध्ये २४० जना परिवारको सम्पर्कमा आएका छन्।सम्पर्कमा नआउनेमा १३ महिला,१२ पुरुष,एक बालक,तीन बालिका र एक ज्येष्ठ नागरिक छन्।

गत आर्थिक वर्षमा १३ महिला,२७ पुरुष,दुई बालिका र तीन ज्येष्ठ नागरिक बेपत्ता थिए।फेला नपर्नेहरू साथीको घर जान्छु भनेर,स्कुलबाट घर नफर्किएर, बजार गएर आउँछु भनेर घरबाट निस्किएका बढी मात्रामा रहेको उनले जानकारी दिए।

चालु आवको माघसम्ममा १०६ महिला,८३ पुरुष,१६ बालक,४८ बालिका र १७ ज्येष्ठ नागरिक हराएका थिए।उनीहरुमध्ये ९३ महिला,७१ पुरुष,१५ बालक, ४५ बालिका र १६ ज्येष्ठ नागरिक परिवारको सम्पर्कमा आएका छन् परिवारको सम्पर्कमा नआएकाको खोजी भइरहेको नरालले बताए।

कार्यालयको महिला सेलमा घरेलु हिंसाका घटना बढ्दो क्रममा रहेका छन्। चालु आवको सात महिनामा २६१ घरेलु हिंसाका घटना भएका छन्।खान लाउन नदिएको ६८,कुटपिटका १२६ र गाली बेइज्जतीका ६७ वटा छन्। नरालका अनुसार गत आवमा घरेलु हिंसाका घटना १५४ दर्ता भएका थिए।

आव २०७६/७७ मा ८४ वटा घरेलु हिंसाका निवेदन दर्ता भएको उनले जानकारी दिए।हरेक वर्ष जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ।कार्यालयको तथ्याङ्कानुसार यस आवमा परेका निवेदनमध्ये १८१ वटा मिलापत्र भएको छ भने ५४ वटा निवेदन अदालतमा दर्ता भएको र २४ वटा निवेदन छलफलका क्रममा  छन्।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *