ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ताप्लेजुङका स्थानीय तहमा कर्मचारी अभाव


ताप्लेजुङ,फागुन ४ l ताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकारीविहीन बनेका छन्।एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा लामो समयदेखि स्थानीय तह प्रमुखविहीन अवस्थामा छन्। 

कुनै स्थानीय तह करिब ६ महिना अघिदेखि र कुनै केही सातायता प्रमुखविहीन बनेका हुन्।यहाँ स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र सरुवा भएको र सो ठाउँमा तत्काल पदपूर्ति नहुँदा प्रमुखविहीन बनेका हुन्।फक्ताङ्लुङ गाउँपालिका ६ महिनादेखि प्रमुखविहीन छ।

यस्तै मिक्वाखोला गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय विहीन बनेको छ।मेरिङ्देन गाउँपालिका र सिदिङ्वा गाउँपालिका एक महिनादेखि प्रमुखविहीन छ।पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिका केही साता अघिदेखि प्रमुखविहीन छ।लामो समयदेखि कार्यालय प्रमुखविहीन हुँदा ति स्थानीय तहको काम प्रभावित भएको छ। 

कार्यालय प्रमुख नभएका स्थानीय तहमा कतिपय कर्मचारी र शिक्षकले समयमा पारिश्रमिक पाउन सकेका छैनन् भने महत्वपूर्ण काममा बाधा पुगेको छ।कार्यालय प्रमुखको पदपूर्ति कहिलेसम्म हुन्छ भन्नेबारे अन्योल छ। फुङ्लिङ नगरपालिका,आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकामा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन्। 

यस्तै ६ वडा रहेको गाउँपालिकामा वडा सचिव नभएपछि सिरिजङ्गा गाउँ कार्यपालिकाले सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवका रूपमा खटाउने  निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको बैठकले लोकसेवा आयोगबाट स्थायी कर्मचारी सिफारिस भई नआउञ्जेलसम्मका लागि सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवका रूपमा खटाउने भएको हो।एकैपटक सरुवा गरिएपछि सिरिजङ्गा वडा सचिवविहीन बनेको हो

फक्ताङलुङ गाउँपालिकामा तीन वडामा मात्र सचिव रहेको गाउँपालिकाका सूचना अधिकारी ज्यप्रकाश रिजालले बताउनुभयो।अनमीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ।मिक्वाखोला गाउँपालिकामा अन्य कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *