नेपालमा बर्षेनि १५ सय बालबालिकामा क्यान्सर

काठमाडौ,फागुन ३ l आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।नेपालमा वार्षिक १५ सय बालबालिकाहरुमा नयाँ क्यान्सर हुने अनुमान गरिएको छ।बाल क्यान्सर सम्पूर्ण क्यान्सरहरुमा छैठौं र बाल स्वास्थ्य समस्याहरुमा नवौं प्रमुख जनस्वास्थ्य समस्या बन्दै आएको छ।
बालबालिकामा के कारणले क्यान्सर हुन्छ भन्ने एकिन कारण नभएपनि धेरै जसो वंशाणुगत कारणले हुने गरेको विशेषज्ञहरु बताउछन्।बालबालिका र वयस्कमा हुने क्यान्सर लगभग उस्तै प्रकृतिको भएपनि पहिचान गर्न गाह्रो हुने गर्छ।तर बालबालिकामा हुने सबैभन्दा धेरै क्यान्सर भनेको रक्त क्यान्सर, आँखाको क्यान्सर,मिर्गौला,हड्डीको क्यान्सर आदि हुन्।
क्यान्सर लाग्नु भनेको शरीरमा आवश्यक भन्दा बढी मात्रामा कोषहरुको वृद्धि हुनु हो।जसले गर्दा ती कोषिकाहरुले शरीरमा राम्रोसँग काम गर्न सक्दैनन्। त्यसले नजिकका कोष र शरीरलाई हानि गरेर जटिल भएर मानिसको ज्यान नै जानसक्छ।त्यसैले क्यान्सरका लक्षण हो कि भन्ने शंका लागेमा चिकित्सकसँग परामर्श गरिहाल्नु पर्ने बाल क्यान्सर रोग विशेषज्ञ डा सुस्मा गुरुङले बताउनु भयो।
सामान्यतया बालबालिकालाई लामो समयसम्म ज्वरो आउने निको नहुने, कतिपय अवस्थामा रगत बग्ने,शरीरमा निलो डाम देखा देखिने,हडडी दुख्ने आलश्य हुने तथा शरीरमा रगतको कमी भएर सेतो,पहेंलो हुने,कमजोर हुने जस्ता लक्षण भएमा बालबालिकामा क्यान्सरको आशंका गर्न सकिन्छ। बालबालिकाको आँखाको नानीमा सेतो फुलो देखियो भने,बालबालिकालाई तेल लगाउने क्रममा पेटमा ठूलो डल्लो भेटियो भने,शरीरमा विभिन्न किसिमका गाँठागुठी आएको छ भने नआत्तिकन स्वास्थ्यकर्मीको परामर्श तथा उपचार सेवा लिनुपर्छ।
नेपालमा उपचारको पहुँचमा पुगेकामध्ये करिब ७० प्रतिशत निको हुने गरेको तथ्यांक रहेको कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा प्रकाश पन्तले बताउनुभयो।अहिले नेपालमा नयाँ बिरामी पहिचान भएकामध्ये बाल क्यान्सरको उपचारको पहुँचमा करिब एकतिहाइ मात्र रहेका छन्।अझै पनि समाजमा क्यान्सर सम्बन्धि जनचेतनाको कमि छ।त्यसैले कति बिरामीहरु उपचारको पहुँचमा नै पुग्न सक्दैनन् ।
सरकारले क्यान्सर बिरामीका लागि १ लाख बराबरको सहुलियत प्रदान त गरेको छ तर त्यो पर्याप्त छैन।एकलाख रुपैयाँले पुग्दैन।एउटा आर्थिक क्रियाकलापमा सक्रिय आमाबुबा आफ्नो सन्तानलाई क्यान्सर भएपछि अर्को शहरमा बस्नुपर्ने अवस्था छ। यसमा निकै ठूलो आर्थिक विपत्ति आइपर्छ।बालबालिकाको क्यान्सरको उपचारमा अस्पतालभित्र मात्र कम्तिमा पनि ४ देखि ५ लाखसम्म खर्च हुन्छ।त्यतिमात्र राज्यले वेहोर्दियो भने अभिभावकले अन्य बस्ने खाने व्यवस्थापन गर्न सहज हुने जानकारहरु बताउछन्।