निजी उद्योगलाई दुध बेच्दा किसानले डीडीसीले दिने भन्दा २ रुपैंया बढी पाउने

काठमाडौ,माघ २८ l एकलौटी रुपमा दुधको मुल्य कायम गरेको दुध उत्पादक सरकारी स्वामित्वको कम्पनी दुग्घ विकास संस्थान (डीडीसी)लाई निजी क्षेत्रका दुध उत्पादकले असन्तुष्टि जनाएका हुन्।सरकारले किसानको लागि कायम गरेको नयाँ मूल्यका आधारमा डीडीसीले निजी क्षेत्रका उद्योगसँग सल्लाह नै नगरी नयाँ मूल्य कायम गरेपछि निजी उत्पादक तथा वितरक संघले विरोध जनाएका हुन्।
निजी उद्योगहरुले किसानले डीडीसीलाई दुध बेच्न निरुत्साहित हुने गरी डीडीसीको भन्दा प्रतिलिटर २ रुपैयाँ बढी मूल्य दिने जानकारी दिएको छ। डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले संयुक्त पत्रकार सम्मेलनमा सरकारले तोकेको भन्दा ६ रुपैयाँ बढी र डीडीसीले दिनेभन्दा २ रुपैयाँ बढीमा किन्ने जानकारी दिएका छन्।
यो मूल्यअनुसार किसानहरूले निजी उद्योगलाई दुध बेच्नु फाइदा हुने छ।यता उपभोक्तालाई भने निजी उद्योगका दुध डीडीसीको भन्दा १ रुपैयाँ बढी पर्ने छ ।नयाँ मूल्यअनुसार निजी उद्योगबाट उत्पादन हुने १ लिटर दुध किन्नका लागि ८६ रुपैयाँ तिर्नुपर्छ।उनीहरुले किसानबाट प्रतिलिटर ६२ रुपैयाँमा किन्नेछन्।डीडीसीले भने लिटरको उपभोक्ता मूल्य ८५ रुपैयाँ र किसानलाई दिने मूल्य ६० रुपैयाँ तोकेको छ।डीडीसीले दुधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रूपैयाँले बढाएको थियो।निजी उद्योगले भने १० रूपैयाँ बढाएका हुन्।