बैतडीमा मतदाता नामावली सङ्कलन स्थगित

बैतडी,माघ २७ l जिल्ला निर्वाचन कार्यालय बैतडीले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलनस्थगन गरेको छ।सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै यहाँ पनि नामावली सङ्कलन बन्द गरिएको हो।
निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन स्थगन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयालले जानकारी दिए।मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ बमोजिम स्थगन गरिएको हो।मतदाता नामावली सङ्कलनको पछिल्लो तथ्याङ्कको अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको छ।उनले भने,“सङ्कलित नामावली रुजु गर्ने काम भइरहेको छ, माघ २९ सम्म रुजु कार्य आयोगमा पठाउँछौँ, त्यसपछि मतदाता यकिन सङ्ख्या आउँछ।”
निर्वाचनको मिति घोषणा हुनुपूर्व जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नियमितरूपमा भइरहेको थियो।हालसम्म जिल्लाका एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्।सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै यहाँ पनि निर्वाचन कार्यालयले आन्तरिक तयारी थालेको जनाएको छ। आयोगले कार्यातालिका सार्वजनिक गरेपछि त्यसैअनुसार जिल्लामा पनि थप काम थालिने कार्यालयले जनाएको छ।(रासस)