ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हुम्लामा हवाई सेवा पाँचौँ दिनमा सुरु


हुम्ला,माघ २५ l हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौँ दिनपछि सञ्चालनमा आएको छ।सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ।विमानस्थलका कर्मचारी,एयरलाइन्सका कर्मचारी,विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी,जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज सञ्चालनमा आएको हो।

पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्यसम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत भएको छ।नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन्।

यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्नसमेत ढुवानी भएको छ।पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्यवस्तुको अभाव भएको थियो भने हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु,तरकारीलगायत भित्रिएको छ।सीता र तारा एयरले जिल्लाका लागि उडान भरेका थिए।

एक हप्तादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा सोमबारदेखि सञ्चालनमा आएको छ।निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको थियो।निमित्त प्रजिअ राईले एक हप्तादेखि बन्द रहेका सेवा सोमबारबाट सञ्चालन भएको जानकारी दिए।स्वास्थ्य मापदण्डअनुसार तोकिएको समयमा आइसोलेशन बस्ने अवधि सकिएको र कोरोनामुक्त भएपछि कार्यालय सञ्चालन गरिएको उनले बताए।

कार्यालयले सम्पूर्ण सेवा सञ्चालन गरेपछि सेवाग्राहीलाई सहज भएको छ। कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने,नयाँ नागरिकता प्रदान गर्न,प्रतिलिपि दिन,अन्य सिफारिस दिन सुरु गरेको छ।सेवा लिँदा सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने,खोपकार्ड र सामाजिक दूरी कायम गरिएको हुनुपर्ने उनले बताए।सेवा बन्द हुँदा जिल्लाका सेवाग्राहीले सास्ती खेप्नुपरेको थियो।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *