६ जिल्ला र १ सय ९ स्थानीय तहले अझै खोपको विवरण पठाएनन्

काठमाडौ,माघ २४ l कोरोना विरुद्धको २४ लाख डोज खोपको तथ्यांक नभेटिएपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीरीय बैठकमार्फत छानबिन समिति गठन गरेको थियो।
छानबिन समितिले गत माघ १७ गते स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा,७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय,७५३ वटै स्थानीय तहलाई माघ २१ गतेसम्म खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण पठाउन सार्वजनिक सूचना जारी गरेको थियो।
कोरोना विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउनेमा ६ जिल्ला र १ सय ९ स्थानीय तह रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउने जिल्ला तथा स्थानीय तहलाई अनिवार्य रुपमा यथाशीघ्र विवरण पठाउन भनेको छ। मन्त्रालयले प्रयोगमा आउन सक्ने खोपको बाँकी मात्रा यकिन गरी छानबिन प्रक्रियालाई सघाउनसमेत अनुरोध गरेको छ।
माघ २१ गतेसम्ममा प्राप्त खोपको मात्रा तथा म्याद गुज्री वा अन्य कुनै कारणवश क्षति भई प्रयोग गर्न नमिल्ने खोपको विवरणसमेत माघ २६ गतेसम्म पठाउन मन्त्रालयले भनेको थियो।