पछील्लो समय पुष्टि भएको ओमिक्रोनको सब–भेरियन्ट कतिको घातक?

काठमाडौ,माघ २० l तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको भेरियन्ट ओमिक्रोन अहिले विश्वभर तीव्र रुपमा फैलिरहेको छ।अहिले विश्वका आधा भन्दा बढी संक्रमित ओमिक्रोन भेरियन्टबाट ग्रसित छन्।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन त्यसका अरु उप–संस्करण (सब–भेरियन्ट) को समग्र रुप हो।ओमिक्रोन भेरियन्टको सबैभन्दा सक्रिय सब–भेरियन्ट बिए.१ हो।तर पछिल्ला दिनहरुमा विशेष गरी एसिया र युरोपका विभिन्न देशमा ओमिक्रोनको अर्को सब–भेरियन्ट बिए.२ को संक्रमण पुष्टि हुन थालेका छन्।
अहिलेसम्म उपलब्ध तथ्यअनुसार बिए.२ सब–भेरियन्ट सबैभन्दा बढी संक्रामक रहेको विश्व स्वास्थ्य संगठनले पनि बताएङ्को छ।तर यो सब–भेरियन्ट कतिको घातक छ भन्ने तथ्य अहिलेसम्म खुलेको छैन।
कुनै पनि भाइरसको नयाँ भेरियन्ट बन्दा उत्परिवर्तन भएर त्यसका उप–संस्करण अर्थात सब–भेरियन्ट बन्ने गर्छन्।ओमिक्रोनभन्दा अघि र अहिलेसम्मकै घातक मानिएको कोरोना भाइरसको डेल्टा भेरियन्टका २ सय सब–भेरियन्ट छन्।ओमिक्रोनको सन्दर्भमा पनि त्यस्तै भएको हो। अहिलेसम्म ओमिक्रोनका बिए.१,बिए.२,बिए.३ र बी.१.१.५२९ सब–भेरियन्ट पुष्टि भएका छन्।
ओमिक्रोनको बिए.१ सब–भेरियन्ट सबैभन्दा सक्रिय छ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार जनवरी २५ सम्म पेश गरिएका भाइरल डीएनएमध्ये झण्डै ९९ प्रतिशत बिए.१ सब–भेरियन्ट पुष्टि भएको छ।
बिए.१ र बिए.२ समान हुँदाहुँदै पनि तिनीहरुबीच २० उत्परिवर्तन (म्युटेशन) को भिन्नता छ। बिए.२ कहाँ उत्पत्ति भयो भन्ने खुलेको छैन। तर,सबैभन्दा पहिले यसको पुष्टि फिलिपिन्समा भएको थियो।
डब्लुएचओका अनुसार ओमिक्रोनका सब–भेरियन्टहरु ५७ देशमा पुष्टि भएका छन्।केही देशमा बिए.२ सब–भेरियन्ट कुल ओमिक्रोन संक्रमणको आधा रहेको छ। यस्तै एसिया र युरोपका केही देशमा बिए.२ सब–भेरियन्टको संक्रमणदर उच्च देखिएको छ।
यस्तै संक्रमण भएमा पनि खोप लगाएकाहरुबाट अरुमा सर्ने सम्भावना कम रहेको अध्ययनकर्ताले उल्लेख गरेका छन्।अहिलेसम्म बिए.२ सब–भेरियन्ट यसअघिका सब भेरियन्टभन्दा घातक रहेको भने पुष्टि भएको छैन।