ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एएफसी यू–२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित

काठमाडौ,कार्तिक ८ lएएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ। ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो। खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७औँ मिनेटमा मेहदीले गोल गरेका थिए। 

त्यस्तै इरानका होसेनले खेलको ७७औँ र ७९औँ मिनेटमा गोल गर्दै ३–० गोलको अग्रता दिलाए। यासिनले इन्ज्युरी समयको चौंथो मिनेटमा गोल गर्दै इरानलाई चार शून्यको जित दिलाए। जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अङ्क जोडेको छ भने नेपाल अङ्कबिहिन छ।

नेपालले अब बिहीबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ। नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन। समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *