ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बडादशैँ शुरुः आज घटस्थापना,
घटस्थापनाको साइत बिहान ११ः४६ बजे

काठमाडौ,असोज २१ l नेपालीको महान् चाड बडादशैको पहिलो दिन विहिवार आज घर घरमा घटस्थापना गरी सुरु भएको छ।

दुर्गा भवानीको आह्वान र पूजा आराधना गरि विधिपूर्वक स्थापना गरिएको दशैघरमा आज राखिएको जमरा दशमीको दिन मान्यजनबाट प्रसादका रुपमा टीका,जमरा र आशिर्वाद लिने गरिन्छ।

बिहिवार बडादशैको पहिलो दिन घरघरमा कलश स्थापना सहित घटस्थापना गरि दशै पर्वको आरम्भ भएको छ।आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन घटस्थापना गरिएसँगै नवरात्र शुरु भएको छ।घटस्थापनाका दिन कलशको स्थापना गरी नदी, खोला,बगर र आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा जमरा राख्ने प्रचलन रहेको छ।

जमरा राखेको ठाँउमा पञ्चरत्न चढाई दुर्गा भवानीको पूजा अराधना गर्ने गरिन्छ। जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक मानिन्छ।माता भवानीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने प्रचलन रहेको हो।यसरी उमारिएको जमरा विजया दशमीका दिन देवीको प्रसादका रुपमा ग्रहण गरिन्छ।

नवरात्रभर महाकाली महालक्ष्मी तथा महासरस्वतीका विभिन्न स्वरुपहरुको पूजा अर्चना गर्ने गरिन्छ।जसमध्ये पहिलो दिन शैलपुत्री,दोस्रो दिन ब्रम्हचारिणी,तेस्रो दिन चन्द्रघण्टा,चौथो दिन कुष्माण्डा,पाँचौँ दिन स्कन्दमाता छैठौँ दिन कात्यायनी सातौदिन कालरात्री आठौ दिन महागौरी र नबौ दिन सिद्धिदात्रीको पुजा गरिन्छ।

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा दशैँ घर,कोत तथा शक्तिपीठमा बलिसहित विशेष पूजा हुने गर्दछ।त्यसैगरि दशमीको दिन मान्यजनबाट टीका जमरा र आशिर्वाद ग्रहण गर्ने गरिन्छ।

नवरात्र आरम्भसँगै देशभरका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड लाग्ने गर्दछ।यसपटक समेत कोरोनाको जोखिम कायम रहेकाले सतर्कता अपनाई वडादशैं मनाउन सरकारले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *