ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निपाह भाइरसको जोखिम नेपालमा पनि उच्च

काठमाडौं, भदौ २९ । भारतको केरला राज्यमा निपाह भाइरसको बिरामीको संख्या बढ्नुका साथै मृत्यु समेत हुन थालेपछि नेपालमा पनि सजग रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

भारत सँग खुल्ला सिमाना भएकोले नेपालमा पनि फैलिने सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन सातै प्रदेशका अस्पतालहरुलाई परिपत्र गरीसकेको छ । निपाह भाइरस पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो ।

यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ । यो भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ ।

संक्रमित पशुको संसर्गमा आएका फलफूल प्रयोग गरेमा वा संक्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा यो रोग सर्ने डा समिर अधिकारी बताउछन् । नेपाल भारत खुला सीमा भएकाले यो भाइरस नेपालमा पनि फैलन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले पटक पटक सचेत रहन आग्रह गरीरहेको छ । निपाह भाइरस सन् १९९९ मा मलेसियामा सुगुरको फर्मबाट पत्ता लागेको थियो । हरेक बर्ष भारत र बंगलादेशमा देखिने गरेको छ । यसलाई उच्च प्राणघातक रोग मानिन्छ यसबाट ४० देखि ७५ प्रतिशत सम्म हुने मृत्यु हुने अनुसन्धानहरुले देखाएको छ । यसको मतलब १० जना बिरामीमध्ये ७ जनाको यसबाट मृत्यु हुने गरेको तंथ्याक रहेको सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनले बताए ।

विश्व स्वास्थ्य सङ्गठनले निपाह भाइरसलाई ठूलो महामारीका रूप लिन सक्ने दस घातक रोगमध्ये एक मानेको छ । यदी मानिसमा निपाह भाइरसको संक्रमण भएमा चार देखी १४ दिन भित्र ज्वरो आउने, टाउको दुख्ने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या, स्मरण शक्तिमा कमी र मस्तिष्क सुनिने जस्ता लक्षण देखापर्ने डा अजित अधिकारीले बताए ।

निपाह भाइरसको संक्रमणबाट बच्नका लागि विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । निपाह भाइरस भएका बिरामीको स्याहार सम्भार तथा हेरचाह गरेपछि राम्रोसँग साबुनपानीले हात सफा सँग हात धुने, बङ्गुर तथा सुँगुरको नजिक जाँदा सचेत हुने, चमेराले जुठो हालेका फलफूल नखाने, फलफूल राम्रोसँग पखालेर खाने, भीडभाडमा जाँदा मास्क लगाउने, निपा भाइरसको लक्षणको जस्तो देखिएमा सङ्क्रमण भएको हो कि होइन भनेर प्रयोगशालामा पीसीआर वा एलैजा विधिको प्रयोग गरेर रगत, पिसाब, नाक, कान र घाँटीको परीक्षण गराउने ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो भाइरस विरुद्धको औषधि पत्ता लागेको छैन । यस्तै निपाह भाइरसविरुद्धको खोप पनि विकास भएको छैन । यो रोग लागेपछि आईसीयूमा राखेर उपचार गर्नुपर्छ । विशेषज्ञका अनुसार यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमामा जान सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *