ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौंमा थुप्रिएको फोहोर आजबाट नियमित उठने: १ महिना लाग्ने उठाउन

काठमाडौं,भदौ १६ । काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ।

काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै आजदेखि उपत्यकामा थुप्रिएको फोहर सिसडोलमा व्यवस्थापन गर्ने काम सुरु भएको छ।

काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिकरुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिगि्रएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी शहर दुर्गन्धित बनेको छ।

यो सहमतिसँगै अनुसार नियमित रुपमा पूर्णक्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब एक महिना लाग्ने अनुमान छ ।

सिसडोलवासीसँग मंगलबार बेलुका भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने छ।

साथै सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन गर्ने तथा सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने उल्लेख छ।

करिब १५० सवारीले नियमित रुपमा नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर लैजान सकेमा ४ हप्तामा मात्रै शहरमा थुप्रिएका फोहोर उठाइसकिने छ । त्यसपछि मात्रै फोहोर उठाउने काम नियमित तालिकामा फर्किन सम्भव हुन्छ ।

हाल उपत्यकाभर ३० हजार टन फोहोर थुप्रिएको महानगरपालिकाको वातावरण विभागको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *