ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कांग्रेसका पुराना संस्थापन मिलाउने सुजाताको प्रयास


काठमाडौं,असार १५ l नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् ।

गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ।

कांग्रेसभित्र पार्टी नेतृत्वका लागि दैनिकजसो आकांक्षी समेत बढ्दै गइरहेका छन् । हालको संस्थापन समूहबाट मात्रै आगामी नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् ।

सभापति शेरबहादुर देउवासहित, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठ संस्थापनबाट सभापतिका लागि दाबी गरिरहेका छन् ।

यसैगरी संस्थापनइतर अर्थात् पुरानो संस्थापन मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको समूहबाट पनि आधादर्जन बढी आकांक्षी देखिएका छन् ।

वर्तमान संस्थापन पक्षबाट आकांक्षी धेरै भएपछि कांग्रेस नेतृ सुजाता कोइरालाले पुरानो संस्थापन समूहलाई मिलाउने प्रयास गरिरहेकी छन् ।

उनले सोमबार कांग्रेस वरिष्ठ नेता पौडेल र सिटौलालाई आफ्नो मन्डिखाटारस्थित निवासमा बोलाएर कांग्रेसको पुरानो संस्थापन पक्षलाई मिलाउने प्रयास गरेकी हुन्l

‘पार्टीभित्र नेतृत्व गर्न आकांक्षी धेरै हुनुहुन्छ, रामचन्द्रजी र सिटौलाजी पहिलेबाट नै पार्टीका लागि धेरै दुःख गरेर आउनुभयो, मैले सबै मिलेरै अघि बढौं भनेर उहाँहरूलाई भनेकी छु,’ नेतृ कोइरालाले राजधानीसँग भनिन् ।

उनले पिता गिरिजाप्रसाद कोइरालाका सहयात्रीका रूपमा काम गरेका नेता पौडेल र सिटौलालाई बोलाएर खाजासहितको छलफल गरेकी हुन् ।

सिटौलाले शान्ति प्रक्रियाका लागि गरेको प्रयासले कांग्रेसलाई सफल बनाएको भन्दै नेतृ कोइरालाले सिटौलासहित समेटेर आफूले नयाँ समीकरण मिलाउन खाजेको बताइन् ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *