ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पहिरोले पाइप बगाउँदा खानेपानीको अभाव


बैतडी,असार १३ l पहिरोले खानेपानीको संरचनामा क्षति पुर्याएपछि दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा खानेपानीको हाहाकार भएको छ ।

गाउँमा ल्याइएको एक मात्र खानेपानी लाइनमा पहिराले क्षति पुर्याएसँगै दुई सय घर परिवार खानेपानीबाट वञ्चित
भएका छन् ।गत शुक्रबारको पहिराले सूर्नया गाउँपालिका–३ धरमघरमा खानेपानी संरचनामा क्षति पुर्याएको खानेपानी आयोजनाका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताए l

पहिराले खानेपानी लाइन करीब ३÷४ सय मिटरमा क्षति पुर्याएको छ । बीस किलोमिटर टाढाको मुहानबाट लगिएको खानेपानीको मुख्य लाइनमा क्षति पुगेपछि गाउँमा निकै समस्या भएको स्थानीय केशव भट्टले बताए । खानेपानी पुनःसञ्चालन गर्न पहल भइरहेको चडेपानी खानेपानी उपभोक्ता समितिले जनाएको छ । 

सरकारी कार्यालय बुधबारदेखि खुल्ने

जिल्ला प्रशासन कार्यालयलगायत यहाँका सबै सरकारी कार्यालयले बारअनुसार सेवा दिने भएका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएपछि बन्द गरेका जिल्लास्थित सबै सरकारी कार्यालयले आगामी बुधबारदेखि बार अनुसारका सेवा दिने भएका छन् । 

कोरोनाको सङ्क्रमणदर बढेसँगै गत वैशाखदेखि बन्द भएका सेवा यही असार १६ गतेदेखि नियमित रुपमा पुनः सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालयसहित अन्य कार्यालयले दिने सेवा नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको छ । फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने निर्णय भएको छ । 

कोरोना सङ्क्रमणको दर घटे पनि जोखिम कायमै रहेकाले भीडभाड कम गर्न बार अनुसारको सेवा प्रवाह गर्न लागिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको भनाइ छ ।

जिल्लामा गत वैशाख २० गतेदेखि शुरु भएको निषेधाज्ञा यही असार १५ गते सकिँदैछ । कोरोना सङ्क्रमणका कारण जिल्लामा हालसम्म १८ व्यक्तिको मृत्यु भइसकेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *