आगामी तिन दिन देशभर सामान्य देखि पूर्ण बदली हुने

काठमाडौं,असार १३। आगामी तिन दिन देशभर सामान्य देखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तिन दिन देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
असार १५ मा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
आगामी २४ घण्टाका लागि प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।