ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भरतपुरमा छुवाछूतमुक्त अभियान शुरु


चितवन,असार९ l भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि छुवाछूत मुक्त अभियान शुरु गरेको छ।

महानगरले नीतिगत कार्यक्रम नै बनाएर सामाजिक अन्तरघुलनका निम्ति छुवाछूतमुक्त अभियान शुरु गरेको हो।महानगरप्रमुख रेनु दाहालले समाजमा अझै पनि विभेद रहेको बताउँदै भन्नुभयो, “अब नीतिगत रुपमा शुरु भएको छुवाछूतमुक्त अभियानले जातीय छुवाछूत र विभेद अन्त्य गर्न विशेष योगदान गर्ने छ।”

महानगरले अन्तरजातीय विवाह गर्ने दुई दम्पतीलाई रु एक÷एक लाख नगदसहित सम्मानपत्रले सम्मानित गर्दै अभियानको शुरुआत गरेको हो।भरतपुर–२७ का उदय सुनार, प्रतिमा गुरुङ सुनार र भरतपुर–६ का दीपक बुढाथोकी र निशा परियार बुढाथोकीलाई सो रकम प्रदान गरिएको हो।

छुवाछूतमुक्त अभियानअन्तर्गत अन्तरजातीय विवाह गर्ने दम्पतीलाई प्रोत्साहनस्वरुप सो रकम सहयोग गरिनेछ।महानगर उपप्रमुख पार्वती शाहले जातीय विभेद र छुवाछूतरहित समाज निर्माणमा महानगरको यो अभियानले मुलुकमा नै नयाँ तरङ्ग ल्याउने विश्वास व्यक्त गरे।

जगतपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक उदय सुनार र गुञ्जनगर स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा गुरुङ सुनारले छ वर्ष प्रेम सम्बन्धपछि विवाह गरेका थिए।प्रतिमाले छरछिमेकका कारण आफ्नो परिवारले पूर्ण रुपमा स्वीकार गर्न नसकेको अवस्थामा महानगरको यो सम्मानले समाज परिर्वतनमा ध्यान पुग्ने बताइन्।

उनले बोलेरभन्दा पनि महानगर कामै गरेर अभियान थालेकामा यसलाई निरन्तरता दिन माग गरिन्।तनहुँ व्यास नगरपालिका–१ की प्रतिमाले २०७७ सालमा भरतपुर २७ का उदयसँग अन्तरजातिय विवाह गरेकी थिइन्।

यस्तै अर्का दम्पती दीपक र निशाले चार वर्षको प्रेम सम्बन्धपछि विवाह गरे। स्थानीय सरकारले नै यसरी सम्मान गरेपछि यो अभियानले सार्थकता पाउने उनले बताए।

कक्षा ५ सम्म अध्ययन गरेका दीपक सवारी चालक छन्। भने उनकी श्रीमती निशा कक्षा ११ मा अध्ययनरत छन्।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *