ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बागलुङमा २८ वडा पहिरोको उच्च जोखिममा


बागलुङ,असार ९ l यस वर्ष बागलुङमा पहिरोका कारण ३० हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ । बागलुङका २८ वडा पहिरोको उच्च, २४ वडामा पहिरोको मध्यम र आठ वडा न्यून जोखिममा रहेका छन् ।

पहिरोको उच्च, मध्यम र न्यून जोखिमलाई आकलन गरेर पहिरो प्रभावितको सङ्ख्या तयार पारिएको हो । मनसुन शुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको ‘मनुसन आपत्कालीन कार्ययोजना–२०७८’ले जिल्लाका अधिकांश भूभाग पहिरोबाट प्रभावित हुने तथ्याङ्क तयार गरेको हो ।

जिल्लाभर पहिरोका कारण तीन हजार ५०० देखि चार हजार घरमा क्षति हुनसक्ने कार्ययोजनामा उल्लेख छ । पहिराेकाे जोखिममा सामुदायिक विद्यालयसमेत परेका छन् । यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिराले प्रभाव पार्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

तीमध्ये केही पूर्ण रुपमा र केही आंशिक प्रभावित हुनेछन् ।मनसुनजन्य विपत्पछिको प्रतिकार्य पुनस्र्थापना र राहत तथा उद्धारका लागि विपत् व्यवस्थापन समितिले कार्ययोजना बनाएर काम थालेको हो । पूर्वानुमान अनुसार सबै तहमा व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

“हामीले स्थानीय तहसँग जोखिमबारे छलफल गरेर तथ्याङ्क तयार गरेका छौँ, सोही अनुसार जोखिमसँग जुध्न सबै सरोकारवालालाई तयार रहन निर्देशन दिएका छौँ”, कार्कीले भने ।विपत् व्यवस्थापन समितिले कार्ययोजना पारित गरेर कार्यान्वयनमा ल्याएको छ ।

कार्ययोजनाअनुसार तीन हजार ४४३ पाँच वर्षमुनिका बालबालिका बाढीपहिरोमा प्रभावित हुनेछन् ।  त्यस्तै ६० वर्षमाथिका ज्येष्ठ नागरिकको तथ्याङ्कसमेत धेरै छ । तीन हजार ६९९ ज्येष्ठ नागरिक प्रभावित हुने पूर्वानुमान छ । गर्भवती ७६५ र सुत्केरी एक हजार ४०४ जना प्रभावित हुने अनुमानित तथ्याङ्क रहेको कार्कीले जानकारी दिए।

बागलुङमा रहेका विभिन्न नदी तथा खोला किनारका बस्तीसमेत बाढीको उच्च जोखिममा रहेको कार्ययोजनामा उल्लेख छ । कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौँदीखोला, उत्तरगङ्गालगायत खोला तथा नदी किनारका बस्तीहरु बाढीको जोखिममा छन् ।

“यहाँका सबै खोला किनारका तटीय क्षेत्र जोखिममा छन्”, विपद् व्यवस्थापन समितिले भनेको छ, “पूर्व तयारीमा खोला किनारका बस्तीहरु रहन आवश्यक छ ।” कार्ययोजनाले उद्धार राहत तथा पुनस्र्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्याङ्क तयार गरेको छ ।

“उद्धार सामग्रीदेखि पुनःस्थापनाका लागि आवश्यक योजना समेतमा छलफल भयो”, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश गौतमले भने, “सबै सरोकारवाला सतर्क रहने र तत्काल उद्धारमा लाग्ने भन्ने छ ।” जिल्लाका अधिकांश बस्ती सडक, भल र बाढीका कारण जोखिममा रहेको स्थानीय तहहरुले पूर्वानुमान गरेका छन् ।

स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरो पीडितको तथ्याङ्क र यस वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार भएको हो ।

अक्सिजन प्लान्ट बन्न दुई महिना लाग्ने

धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट थप गर्न कम्तीमा दुई महिना समय लाग्ने भएको छ । द्रुत गतिमा काम थालिएको भए पनि प्लान्ट निर्माणका लागि निर्माण कम्पनीले दुई महिनाको समय मागेको हो ।

अर्थको स्वीकृतिमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले बजेटको सुनिश्चितता गरेपछि प्रक्रिया अघि बढेको थियो । झण्डै रु तीन करोडको लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया शुरु भएको एक महिनामा नै निर्माण सम्पन्न गर्ने अस्पतालको लक्ष्य थियो ।

बजेट प्राप्त भइनसकेको र आर्थिक वर्षको अन्तमा योजना सम्झौता गर्नु परेका कारण निर्माण व्यवसायीले लामो समय माग गरेको अस्पताल प्रशासनले जनाएको छ । “असार ६ गते सम्झौता भएको छ, कम्तीमा ४० र बढीमा ६० दिन समय लाग्ने निर्माण कम्पनीले जानकारी गराएको छ”, अस्पतालका लेखा अधिकृत झलक आचार्यले भने, “विनियोजन समयमा आए यो वर्ष प्रारम्भिक कामको भुक्तानी मात्रै दिन सकिन्छ ।”

उनका अनुसार स्वास्थ्य मन्त्रालयले बजेटको सुनिश्चितता गरेको भए पनि अहिलेसम्म निकासा पठाएको छैन । प्लान्ट निर्माणको जिम्मेवारी पाएको आरोग्य मेडिटेक प्रालिलाई पहिलो किस्ताको रकमसमेत दिन नसकिएको अस्पतालले जनाएको छ । रु दुई करोड ३२ लाखमा कम्पनीले प्लान्ट निर्माणको जिम्मेवारी पाएको हो ।

रु तीन करोड बजेटमध्ये बाँकी रकमले अक्सिजन प्लान्टका लागि आवश्यक पूर्वाधार निर्माणको काम गरिने छ ।“पहिलो किस्ताको २० प्रतिशत रकम दिनुपर्ने व्यवस्था छ तर निकासा आएको छैन”, व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भने, “अर्को आर्थिक वर्षमा जाँदा बजेटको झमेला हुनसक्छ ।”

चालू आवमा नै प्लान्ट निर्माणको काम सम्पन्न नहुने भएपछि अस्पतालले आगामी आवका लागिसमेत बजेटको व्यवस्थापन गरिदिन मन्त्रालयलाई जानकारी गराएको छ । असार मसान्तभित्र विनियोजित बजेट पठाए पनि निर्माणको काम नसकिँदा अर्को वर्षमा दायित्व सर्ने छ ।

यस वर्षको बजेट फिर्ता जाने र अर्को वर्ष बजेट नभए प्लान्ट निर्माणमा समस्या हुने व्यवस्थापनको ठहर छ ।अस्पतालमा यसअघि २० जनासम्मका लागि पुग्ने अक्सिजन प्लान्ट छ । यस पटक १५० जनालाई पुग्ने र १०० थान सिलिन्डर प्रतिदिन भर्न मिल्ने गरी प्लान्ट निर्माणको काम थालिएको हो ।

मन्त्रालयले भने दायित्व सिर्जना भएपछि भुक्तानी पठाउने भनेको छ । “अनुमति पाएकाले टेण्डर गरेर काम अघि बढेको छ, दायित्व सिर्जना भएको लेखी पठाएका छौँ”, आचार्य भन्छन्, “बजेटको समस्या नआए दुई महिनामा प्लान्ट तयार हुन्छ ।”(रासस)



Leave a Reply

Your email address will not be published. Required fields are marked *