ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बागलुङमा गाउँभर कोरोना संक्रमित, रोकिएनन् विवाह भोज

बागलुङ,असार ८ l बागलुङमा निषेधाज्ञा जारी भए पनि विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् ।

निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागी हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत् रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागी भएका ३५ जनामा कोरोना पुष्टि भएको छ ।

एउटै गाउँमा यति धेरै जनामा संक्रमण देखिएको हो । विवाहमा सहभागी भएका ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खानाल बताउँछन् । गाउँभरी ज्वरो, रुघा, खोकी र शरीर दुख्ने समस्या देखिएपछि परीक्षण गरिएको थियो ।

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागी एकै परिवारका चार जनाको संक्रमणबाट मृत्यु भएको थियो ।

सात जनाभन्दा जम्मा नहुनु भन्ने जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय छ, पालना सबैले गर्नुपर्छ’, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शिवकुमार कार्कीले भने,’यदि कसैले नियम मिचे प्रशासनलाई खबर गरौँ ।’

बागलुङको भकुण्डे, तित्याङ र पैञ्युपाटालगायत गाउँमा पनि यसै साता धार्मिक कार्यमा धेरै जम्मा भएर भोज गरेको गुनासो छ । तर, प्रशासनलाई पहिले खबर नगर्ने र पछि गुनासो गर्ने धेरै रहेको कार्की बताउँछन् । बागलुङमा ३४० जना सक्रिय संक्रमित छन् ।

खनालका अनुसार, दोस्रो लहर चल्ने बेला अन्यत्रभन्दा पहिला धेरै संक्रमित देखिएको वडा नम्बर १४ नारायणस्थान सक्रिय संक्रमित मुक्त भएको छ । त्यस्तै वडा नम्बर ११ रायडाँडा, वडा नम्बर ५ मालिका र वडा नम्बर ८ सिगानामा सक्रिय संक्रिमतको संख्या शून्य छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *