युरोकप: डेनमार्क, नेदरल्याण्ड्स, अष्ट्रिया र बेल्जियम नकआउट चरणमा
काठमाडौं असार ८ । १६ औं संकरणको युरोकमा नेदरल्याण्ड्सले शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह सी को अन्तिम खेलमा सोमबार नेदरल्याण्ड्सले नर्थ मेसेडोनियालाई ३-० ले पराजित गर्यो ।
नेदरल्याण्ड्सका लागि जर्जिनिओ विज्नाल्डमले दुई गोल गरे । यस्तै मेम्फिस डिपाएले एक गोल गरे ।खेलको २४औँ मिनेटमा डिपाएले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा विज्नाल्डमले दुई गोल गर्दा दुवै असिस्ट डिपाएले गरे। विज्नाल्डमले ५१औँ र ५८औँ मिनेटमा गोल गरे। डेब्युटान्ट नर्थ मेसेडोनिया भने समूहको सबै तीन खेल हार्दै बाहिरिएको छ ।
अर्को खेलमा अष्ट्रियाले युक्रेनलाई १-० ले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित बनाएको छ । अष्ट्रियाका लागि क्रिस्टोफ बाउमगार्टनर २१औँ मिनेटमा डेभिड अलावाको पासमा गोल गरे ।
अर्को खेलमा बेल्जियमले फिनल्याण्डलाई २-० ले पराजित गर्दै बेल्जियमले शतप्रतिशत जित सहित नकआउट चरणमा प्रवेश गरेको छ ।बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे भने एक गोल उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरी सकिए पनि दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनायो ।
फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५औं मिनेटमा आत्मघाती गोल गरे । ८१औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २-० को जित दिलाए । उनले केभिन डे ब्रुएनाको पासमा गोल गरे ।
समूह ‘बी’ अन्तर्गतको खेलमा रुसलाई ४-१ ले पराजित गर्दै डेनमार्क समूह उपविजेताको बन्दै अन्तिम १६ मा पुगेको छ ।
डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक-एक गोल गरे । रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।