इटली र वेल्स समुह बिजेता र उपविजेता बन्दै अन्तिम १६मा प्रवेश गर्दाँ स्विट्जरल्यान्डको पहिलो जित
एजेन्सी, असार ७ । समुहगत चरणमा शतप्रतिशत अंक निकाल्दै इटली समुह विजेता बन्दै युरोकप फुटवलको अन्तिम १६ मा प्रवेश गरेको छ । ३ खेलमा ९ अंक जोड्दै इटली समुह विजेताका रुपमा अन्तिम १६ मा पुगेको हो ।
आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।स्टेडियममा १० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरे ।
खेलको ३९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका हुन् । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् । खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो ।
पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको थियो ।इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरणमा पहिलो हार व्यहोरेको वेल्सले ३ खेलमा ४ अंक जोड्यो । र, समूहको दोस्रो स्थानमा रह्यो । समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
उता युरोकपमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो ।
खेलको छैटौं मिनेटमा हरिसले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । भने २६ औं मिनेटमा शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई २-० गोलको अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा इरफानले गोल गर्दै टर्कीलाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ६८ औं मिनेटमा जुबेरको पासमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३-१ को जित दिलाए ।