ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौं महानगरका २० वटा एम्बुलेन्स दैनिक सेवामा १० वटा कोभिड १० वटा नन कोभिड

जेठ १४, काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराइएको बताएको छ ।

कोभिड–१९ को संक्रमण बढेसँगै भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएर अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने अभियानामा महानगर लागेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रिवि शिक्षण अस्पताललाई १०, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरेको महानगरले जानकारी दिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई ५० वटा मनिटर उपलब्ध गराएका छौं भने महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २ थान भेन्टिलेटर उपलब्ध गराएका छौँ । महानगरपालिकामार्फत गरेको यो सहयोगले राजधानीवासी मात्र नभई ७७ वटै जिल्लाका कोभिड संक्रमित नागरिकहरुको सघन उपचारमा सहयोग पुग्ने अपेक्षा सहित यो अभियान सुरु गरेको महानगर प्रमुख विद्या सुन्दर शाक्यले बताए ।

महानगरपालिकाले ६ वटा विभिन्न सरकारी र सामुदायिक अस्पतालहरुलाई पीसीआर मेसिन, मनिटर, मेसिन र बेड उपलब्ध गराएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कान्ति बाल अस्पताललाई महानगरपालिकाले उपलब्ध गराएको ५ करोड बराबरको सहयोग रकमले निर्माण गरिएको अक्सिजन प्लान्टमध्ये गंगालालले प्लान्ट संचालनमा ल्याइसकेको छ ।

कान्ति अस्पतालमा प्लान्ट असार महिनादेखि संचालन हुनेछ । कोभिड संक्रमित बिरामी तथा आफन्तहरुलाई उपचारमा सहज होस भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको समेत महानगरले बताएको छ ।

बिरामीहरुलाई अस्पतालमा पुग्न फोन नं. १०२ मार्फत १० वटा र नन् कोभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा संचालनमा गरेको महानगर प्रमुख शाक्यले बताए । जसबाट हालसम्म २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार नन् कोभिड बिरामीहरुले सेवा लिईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *