ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२५६५औं बुद्ध जयन्तीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरी मनाईने

जेठ १० कपिलवस्तु । २५६५औं बुद्ध जयन्ती कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीले प्रभावित भएको छ । सधैं भव्य समारोहका बीच सम्पन्न हुने गरेको बुद्धजयन्ती गतवर्ष पनि बन्दाबन्दीको कारण पूजापाठमा सीमित भएको थियो ।

यस वर्ष पनि आउँदो जेठ १२ गते परेको बुद्धजयन्तीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ । कोरोना महामारीका कारण स्वदेश र विदेशबाट राष्ट्रप्रमुख, भिक्षु भिक्षुणी, कूटनीतिज्ञहरु र बौद्ध धर्मावलम्बीहरु सहभागी हुन नसक्ने भएकाले पूजापाठ र दीप प्रज्ज्वलन गरेर सामान्य रुपमा बुद्ध जयन्ती मनाइने भएको हो ।

विगतका वर्षमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सहित भब्य रूपमा बुद्ध जयन्ती मनाउने गरिन्थ्यो । कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि ‘यस वर्ष भब्य रूपमा मनाउने तयारी भएकोमा रद्द गरिएको छ । बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवि मन्दिर परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश वाचन र परित्राण पाठ तथा साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेको दिन पनि वैशाख पूर्णिमा नै भएकाले बौद्ध धमावलम्बीहरुले वैशाख पूर्णिमालाई निकै पवित्र र महत्वपूर्ण दिनका रूपमा लिन्छन् । बुद्ध जयन्तीका दिन नेपाल लगायत भुटान, थाइल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङका, लाओस, कोरिया, जापान, चीन आदि देशहरुबाट सयौंको संख्यामा र नेपालका विभिन्न जिल्लाबाट समेत गरी लुम्बिनीमा ५० हजार बढीको आगमन हुने गरेको छ ।

नेपालमा २००८ सालदेखि बुद्धजयन्तीको दिन सार्वजनिक बिदा दिने प्रचलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *