ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभिड विरामीको सङ्ख्या घटे पनि मृत्युदर घटेन

काठमाडौं जेठ १० । लुम्बिनी प्रदेशमा ‘बिरामी सङ्ख्यामा कमी तर मृत्युदर घटेन’-लुम्बिनी प्रदेशका कोभिड विशेष अस्पतालमा पछिल्लो समय बिरामीको सङ्ख्या कम हुँदै गए पनि मृत्युदर घट्न नसकेको बताइएको छ।

नेपालगन्जको भेरी अस्पतालमा अहिले पनि आइसोलेशन कक्षका चारवटा हल सिकिस्त बिरामीले भरिभराउ रहेको अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालले बताए। “यसअघि अस्पतालका सबै वार्डलगायत आकस्मिक कक्षमा समेत बिरामी भरिएर बाहिर पाल टाँगेर समेत उपचार गर्नुपर्ने अवस्था थियो,” डा. रिसालले भने, “सयौँ बिरामीको मृत्यु भयो, कतिपय बिरामी निको भएर गए, पछि सङ्क्रमण भएकाहरूलाई स्थानीय आइसोलेशनमा राख्न थालियो र लक्षण नदेखिएका सबै होम आइसोलेशनमै रहेकाले अस्पतालमा चाप कम हुँदै गएको हुनसक्छ।

” “स्थानीय आइसोलेशन र बाहिरी जिल्लाका सिकिस्त बिरामीलाई अन्त्यमा रिफर गर्ने भनेको अस्पताल नै हो।”कोरोनाभाइरस सङ्क्रमितको उपचार गरिरहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी नन्दु पाठकले सिकिस्त बिरामीहरूलाई १५ दिन बढी समय सम्म राख्नुपर्ने भएकाले नयाँ बिरामीलाई बेडको समस्या भइरहेको बताए।भीम अस्पताल भैरहवाले अक्सिजनसँगै जनशक्तिको अभाव झेलिरहेको बताएको छ।

अस्पतालका प्रमुख डा. शकुन्तला गुप्ताले भनिन्, ”विशेषज्ञ डाक्टर बाहिरबाट बोलाउने गरेका छौँ, त्यही पनि नियमित रूपमा नआइदिँदा समस्या छ।” पहिले आईसीयू र भेन्टिलेटरको लागि बारम्बार फोन आउने गरेको तर पछिल्लो समय त्यस्तो फोन आउन कम भएको डा. गुप्ताले बताइन्।दाङको बेलझुन्डी आइसोलेशनमा ४२ जना सिकिस्त बिरामी मात्र रहेको अस्पतालका प्रमुख डा. विनोद सिंहले जानकारी दिए।

सत्तरी हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको लुम्बिनी प्रदेशमा हाल निको हुने दर ७४.०५ प्रतिशत र मृत्यु दर २२.८८ प्रतिशत रहेको लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो समय सङ्क्रमणभन्दा निको हुने दर वृद्धि भएको जानकारी दिँदै मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले भने , “सङ्क्रमितको सङ्कख्या केही मात्रामा घटे पनि प्रभावकारी रूपमा नियन्त्रण हुन सकेको छैन, यसको लागि सबैले संयमित भएर स्वास्थ्य मापदण्ड पालना गर्न जरुरी छ।” बीबीसी नेपालीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *