ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वाग्मतीका सबै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण प्रक्रिया शुरु गरेका छौं : मुख्यमन्त्री पौडेल


काठमाडौ,जेठ २ l वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहतका सबै अस्पतालमा क्षमताअनुसारको अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया प्रारम्भ भइसकेको बताएका छन् ।

मुख्यमन्त्री पौडेलले आज प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखलाई भर्चुअल रुपमा निर्देशन दिँदै तत्कालका लागि अस्पताललाई आवश्यकता परेका समस्याको समाधान गर्न सरकारले गर्नुपर्ने काममा सरकार तयार रहेको स्पष्ट गरेका थिए ।उनले रकम अभावका कारण कुनैपनि काम नरोकिने बताउँदै प्रदेश र स्थानीय सरकारलाई कोभिड नियन्त्रणका लागि सङ्घीय सरकारले पूर्ण अधिकार दिएकाले कोभिड १९ नियन्त्रणका लागि आवश्यक रकम खर्च गर्न नहिच्किचाउन अनुरोध गरे ।

महामारी नियन्त्रणमा पैसा वा अन्य आवश्यकता वाधक हुन नहुने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले अक्सिजनको उपलब्धताका लागि सरकार लागि परेको जानकारी दिँदै प्रदेशमा आवश्यकता अनुसारको आइसोलेशन, कोभिड अस्पताल र जनशक्तिलगायतका अभाव हुन नदिइने पनि जनाए ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, सामाजिक विकासमन्त्री सरस्वती बस्नेत, सामजिक विकास राज्यमन्त्री डा.रामकुमार अधिकारीलगायत सहभागी रहेका थिए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *