ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना प्रभाव : बाँकेमा ३७६ जनाको मृत्यु


बाँके बैशाख ३०। बाँकेमा कोरोना सङ्क्रमणबाट हालसम्म ३७६ जनाको ज्यान गएको छ । बाँकेका २१३ जना र बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचार गराउन आएका १६३ गरी आजसम्म ३७६ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार २०७७ साल जेठ ३ गतेदेखि मृत्युको सिलसिला शुरु भएको भएको थियो । कोरोनाको दोस्रो लहर शुरु भएपछि धेरैले ज्यान गुमाएका छन् । पछिल्लो दिनमा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा बाँके र बाहिरी जिल्लाका १२ देखि १७ जना सङ्क्रमितको उपचारकै क्रममा एकैदिन मृत्यु हुने गरेको छ ।

पश्चिम नेपालमै कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका साथै कर्णाली र सुदूरपश्चिम जिल्लाका अस्पतालबाट दैनिक ठूलो सङ्ख्यामा बिरामी प्रेषण भई आउने गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए । पछिल्लो पटक गएराती बाँके, बर्दिया र दाङका गरी थप नौ जना कोरोना सङ्क्रमितको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ निवासी ४३ वर्षीया महिला, बर्दिया राजापुर नगरपालिका वडा नं ६ निवासी ५६ वर्षीया महिला र बर्दिया गुलरिया नगरपालिका वडा नं निवासी ३२ वर्षीया महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी ४३ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका वडा नं ६ निवासी ६४ वर्षीय पुरुष, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं ५ निवासी ३५ वर्षीया महिला, डुडुवा गाउँपालिका वडा नं ३ बाँके निवासी ५० वर्षीया महिला, नरैनापुर गाउँपालिका वडा नं ५ बाँके निवासी ४२ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ निवासी ७५ वर्षीया महिलाको गएराति मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।

पाल्पाका होटल आइसोलेशन 

कोरोनाको दोस्रो लहर फैलिँदै जान थालेपछि पाल्पाका होटललाई आइसोलेशन बनाउन थालिएको छ । गाउँगाउँमा सङ्क्रमण बढ्दै गएको अवस्थामा आइसोलेशनको अभावमा कोही नागरिकले मृत्युवरण गर्न नपरोस् भनी होटललाई आइसोलेशन बनाइएको पाल्पा होटल तथा रेष्टुराँ व्यवसायी समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिए।जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम समितीले अनुमति दिएपछि होटललाई आइसोलेशन बनाइएको श्रेष्ठले बताए ।

सङ्क्रमितलाई अक्सिजन सहितको खाना, खाजा तथा अन्य सेवाका लागि होटलमा दुई जना बसोबास गरेवापत दैनिक प्रतिव्यक्ति रु दुई हजार र एक जनाका लागि तीन हजार शुल्क कायम गरिएको छ ।जिल्लाको दश स्थानीय तहमध्ये सबैभन्दा बढी सदरमुकाम तानसेनमा कोरोना सङ्क्रमणको दर बढ्दो छ । तानसेनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले पहिलो चरणमा होटल अन्नपूर्ण, मोनिका गेष्टहाउस, सिम्रिक, ताज, श्रीनगरमा आइसोलेशन सञ्चालन गरिएको छ ।

पहिलो चरणमा तयार पारिएका होटल आइसोलेशनमा तीन सय शय्या छ भने आवश्यकताअनुसार थप गर्दै जाने समितिले जनाएको छ । 

कोरोना परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा 

सञ्चालनमा आएको पाँच महिनामै बन्द भएको गुल्मीको कोरोना परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएका छन् । जिल्लाका पालिकाहरूको आर्थिक सहयोगमा बुधबारदेखि प्रयोगशाला सञ्चालनमा आएको हो ।

गत वर्षको असोज १ गतेदेखि सञ्चालनमा आएको प्रयोगशाला स्थानीय तहहरूले कबुल गरेको रकम नदिँदा फागुन ८ गतेदेखि बन्द भएको थियो । अहिले पालिकाहरूले कबुल गरेको र अन्य थप रकमसमेत सहयोग गरेपछि बन्द भएको झण्डै अढाई महिनापछि परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको जिल्ला समन्वय समिति प्रमुख एवम् तम्घास अस्पताल व्यवस्थापन समिति अध्यक्ष लक्षमण पराजुलीले जानकारी दिए

अहिले प्रत्येक गाउँपालिकाले दुई÷दुई लाख तथा नगरपालिकाले तीन/तीन लाख गरी कुल रु २६ लाख रकम सङ्कलन भएपछि प्रयोगशाला सञ्चालनमा आएको पराजुलीले जानकारी दिए । प्रयोगशाला तम्घास अस्पताल मातहत रहेर सञ्चालन हुनेछ ।

पहिले प्रयोगशालामा काम गरेका केही कर्मचारीले कोभिड भत्ता र केहीले तलब–भत्ता नै पाएका थिएनन् ।अब केही दिनभित्रै भत्ता र तलब पाउने सहमती भएपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशालामा दैनिक तीन सयसम्म स्वाब परीक्षण गर्न सकिने भण्डारीले बताए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *