ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना संक्रमण

सोलुखुम्बुमा सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको हो । 

सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिइन् । उनका  अनुसार यही वैशाख १५ र १६ गते एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै बुधबार दुई तथा बिहीबार र आज चार÷चार जनामा संक्रमण पुष्टि भएको उनले बताइन् । 

तीमध्ये कोरोना सङ्क्रमित दुईमा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखी उपचार शुरु गरिएको गाउँपालिकाले जनाएको छ । अन्य आठलार्ई होम आइसोलेशनमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार शुक्रबारसम्म चार जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ ।

खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एक-एक नागरिकलाई थप उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौँ पठाइएको गाउँपालिका स्वास्थ्य संयोजक तामाङले जानकारी दिइन् । 

यस्तै जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरेकामध्ये एकलाई काठमाडौँ र एकलाई विराटनगर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिए । लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहितको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिलेसम्म जिल्लामा ३० जनामा कोरोना संक्रमण भएको छ तर हाइड्रोपावरले गरेको परीक्षणलाई नेपाल सरकारले आधिकारिक मानेको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *