ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने

काठमाडौं ९ बैशाख । मौसमले साथ दिएमा वैशाख ९ गते आज राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

वैशाख ९ गते राति ११:०० बजेदेखि वैशाख १० गते बिहान सूर्योदयसम्मको समय यो वर्ष उच्च देखिने उनले बताए । अत्यधिक सक्रियताका समयमा प्रतिघण्टा १५–२० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ ।

‘थ्याचर’ नामक पुच्छ्रेताराले छाडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छ्रेताराले सूर्यको १ परिक्रमा गर्न ४ सय १५ वर्ष लगाउँछ ।

पुच्छ्रेतारा वा धुमकेतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छाड्ने गर्छन् । जुन लाखौं किलोमिटरसम्म फैलन सक्छ । यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ ।
परिक्रमा गर्ने क्रममा जब यी धुलाका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *