पुँजीगत खर्चमा १७ प्रतिशतले घट्यो
काठमाडौं,चैत ३०। सरकारले चालू आर्थिक बर्षको पाँच महिनामा ५ खर्ब ७१ अर्ब रुपैयाँ मात्रै बजेट खर्च गरेको अर्थमन्त्रालयले जनाएको छ । जसमध्ये चालू खर्च ४ खर्ब ५५ अर्ब रुपैयाँ , पुँजीगत तर्फ ७९ अर्ब ७० करोड र वित्तीय व्यवस्थातर्फ ३५ अर्ब ५१ करोड रुपैयाँ खर्च भएको छ ।
गत बर्षको सोही अवधिको तुलनामा चालू खर्च १.१ प्रतिशतले बढेको छ भने पूँजीगत खर्च १७.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फको खर्च ४४.१ प्रतिशतले घटेको छ ।
चालू आर्थिक बर्षको ८ महिनामा कुल विनियोजित बजेटको ३८.७ प्रतिशत मात्रै बजेट खर्च भएको छ । जसमध्ये चालू तर्फ ४८ प्रतिशत , पुजीगत तर्फ २२.६ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २०.६ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
राजस्व संकलन भने फागुन महिनासम्ममा गत बर्षको हाराहारीमा नै संकलन भएको अर्थमन्त्रालयले जनाएको छ । कुल राजस्व संकलन गत बर्षको ८ महिनाको तुलनामा ४.५ प्रतिशतले बृद्धि भई ५ खर्ब ७१ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ ।
जसमध्ये कर राजस्व ५ खर्ब २७ अर्ब , गैह्रकर राजस्व ४३ अर्ब ५३ करोड प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ । अन्य प्राप्ति सहित सरकारले कुल प्राप्ति ६ खर्ब ३ अर्ब रहेको छ ।