ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिसापानीमा पर्यटकस्तरीय होटलसहित केबलकार लगानी गर्ने ढकालको उद्धघोष

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

धनगढी चैत २१ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय आफ्नो क्षेत्रमा लगानी भित्र्याउन स्थानीय सरकारबीच देखिएको प्रतिस्पर्धा सकारात्मक भएको बताएका छन् ।

सुदूरपश्चिम ठूलो सम्भावना भएको क्षेत्र भएको र आफू बारम्बार आइरहने उल्लेख गर्दै व्यावसायिक साझेदारीको पनि सम्भावना रहेको बताए । आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले आफू सहकार्यको सिद्धान्तको पक्षपाती भएको उल्लेख गर्दै चिसापानीमा पर्यटकस्तरीय होटलसहित केबलकार लगानी अघि बढाइएको जानकारी दिए । अब उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आतुर रहेको पनि उनले बताए ।

उनले स्थानीय तथा प्रदेश सरकारबीचको यस्तो प्रतिस्पर्धालाई निजी क्षेत्रले सकारात्मक र सुखद् संकेतको रुपमा लिएको बताए । कैलाली उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधारणसभालाई शनिबार धनगढीमा सम्बोधन गर्दै महासंघ वरिष्ठ उपाध्यक्ष ढकालले आफू विभिन्न जिल्लाका कार्यक्रममा जाँदा लगानीका लागि प्रदेश र स्थानीय सरकारबाटै आह्वान भइरहेको जानकारी दिए ।

“म हिजोमात्र वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा गएको थिएँ, त्यहाँ प्रदेश सरकार र वीरगञ्ज उपमहानगरपालिकाले लगानीका लागि आग्रह गर्नुभयो, यस्तै आग्रह मुलुकका धेरै स्थानबाट आइरहेको छ,” वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘यस्ता आग्रह र प्रस्तावलाई हामी निजी क्षेत्रले सकारात्मक रुपमा लिएका छौं ।’

ढकालले निजी क्षेत्रको नेतृत्व स्थानीय सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशभित्र कृषि, पर्यटन, उत्पादनमूलक तथा जडिबुटी प्रशोधन लगायतका क्षेत्रमा सम्भावनाका क्षेत्रमा आफूहरुले सहकार्य गर्न चाहेको जानकारी दिएका छन । ‘स्थानीय र प्रदेश सरकारबाट सहजीकरण हुन सकेमा हामीले धेरै गर्न सक्छौं,’उनले भने ।

जिल्ला उद्योग वाणिज्य संघले ठूला उद्यमीसँग सहकार्यका लागि सहजीकरण गर्न सक्नुपर्ने उल्लेख गर्दै ढकालले महासंघ अध्यक्ष शेखर गोल्छासँग आफूले सुदूरपश्चिममा निजी क्षेत्रको संयुक्त लगानीका विषयमा आफूले छलफल गरेको र गोल्छा सकारात्मक रहेको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *