ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

झन भयावह बन्दै वायु प्रदुषण

काठमाडौं ,चैत १७ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । प्रि-मनसुनको समयमा औषत भन्दा निकै कम वर्षा तथा डढेलो र औद्योगिक गतिविधिका कारण पछिल्ला दिनहरुमा वायु प्रदुषण बढ्दो क्रममा रहेको वातावरण विभागले जनाएको छ।

विभागका अनुसार पछिल्लो केही दिन यता काठमाडौँ, भक्तपुर, ललितपुरसहित हेटौँडा, चितवन, विराटनर, सिमरा, जनकपुर, धनगढीलगायतका क्षेत्रमा वायु प्रदूषण बढेको छ । नेपालमा केही दिनयता वायु प्रदूषण जोखिम स्तरमा रहिरहेको छ।गत शुक्रबारदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा देखिएको तुवाँलो र खतरनाक स्तरको वायु प्रदूषण अझै हटेको छैन ।

विभिन्न स्थानमा लागेको डडेलो,अब्यवस्थीत कलकारखानाको उचित सन्चालन नहुनु र लामो समयसम्म बर्षात नहुदा तुवाँलो कायम रहेको विज्ञहरुले बताएका छन् । प्रदूषणको कारण सामान्य हिँडडुल गर्न पनि कठिनाई भैरहेको छ । हिंडडुल गर्दा आँखा पोल्ने, कमजोर महसुस हुने, खोकी लाग्ने, सासफेर्न गाह्रो हुने जस्ता समस्याहरु देखा पर्न थालेको काठमाडौंका सडकमा भेटिएका यात्रुहरुले बताए ।

प्रदुषणका कारण बिरामीहरुको संख्या बढिरहेको भन्दै चिकित्सकले सतर्क रहन आग्रह गरेका छन् । अहिले देखिएको वायु प्रदूषणमा विभिन्न किसिमका रसायनहरु मिश्रित रहेकाले दीर्घकालीन असर गर्ने उनीहरुको भनाई छ । विशेषगरी स्वासप्रस्वास सम्बन्धी समस्या भएका दिर्घरोगी,वृद्धवृद्धा र बालबालीकालाय धेरै असर गर्ने भएकोले अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्किनै परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न छाती रोग विशेषज्ञ डा रवि महतले बताए ।

नेपालमा वायु प्रदूषणको स्तर झनपछि झन् जोखिमपूर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार वर्षेनी नेपालमा ४२ हजार नेपालीको मृत्यु वायु प्रदूषणका कारण उत्पन्न हुने स्वास्थ्य समस्याका कारण हुने गरेको छ । जसमा २० प्रतिशत नवजात शिशु रहने गरेका छन् । मौसम विभागले अहिलेको अवस्था अझै एक हप्ता कायमै रहने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *