ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमण बढेसँगै होलि घरघरमा खेल्न सरकारको आग्रह

काठमाडौं , चैत १४ । फागु पूर्णिमा अर्थात् रङहरुको पर्व होली-समूहमा भेला भएर मनाउने गरिएपनि गतवर्ष कोरोनाका कारण घर-घरमै सीमित भयो भने यसपालि पनि प्रशासनले रोक लगाएको छ । सरकारले संक्रमणको जोखिम पुन: बढेकाले परिवारभित्र स्वास्थ्य मापदण्डको पालनासहित मनाउन आग्रह गरेको छ ।

फागू पूर्णिमा अर्थात होली भन्ने वित्तिकै रंग,रमाइलो उत्साह अनि प्रेमका कुरा जोडिने गर्छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि औपचारिक रुपमा फागुको रौनक शुरु हुन्छ । केही दिन अघिदेखि नै सुरु भएर पूर्णिमाको दिन विशेष उत्साहका साथ रंग खेल्ने चलन भएकोमा गतबर्ष चैतदेखिको लकडाउनका कारण समूहमा खेल्न निषेध गरिएको थियो । यसपालि पुन: कोरोना संक्रमणको जोखिम बढेपछि भिडभाडमा लगाइएको प्रतिबन्धले होली अघिल्ला वर्षका जस्तो नहुने भएको छ । भारतसहित विभिन्न मुलुकमा कोरोनाको दोश्रो लहर तीब्ररुपले फैलिएपछि नेपालमा पनि जोखिम बढेकाले सतर्कतास्वरुप पर्व मनाउन र भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह छ ।

विभिन्न मुलुकहरुमा भेटिएका कोरोनाका नयाँ भेरिएन्ट र म्युटेसनका कारण गतबर्षजस्तै यो बर्ष पनि फागू घरघरमै मनाउन र स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बताए ।

पछिल्लो केहि दिनयता छिमेकी देशहरूमा कोरोना संक्रमणदर भयावह बनेपछि त्यसबाट सिर्जित जोखिमको मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला भेला, जुलुस, सभा, सम्मेलनजस्ता मानिसको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *