ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रासायनिक मलको कारखाना खोल्ने संभावना के छ ?

काठमाडौं चैत्र १३ । बिहीबार पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री केपी ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने घोषणा गरे । विद्युतबाट सञ्चालन हुने मल कारखानाका विषयमा छलफल भइरहेको बताउदै प्रधानमन्त्री ओलीले  कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानहरुलाई तालिम दिन जरुरी रहेको बताए । उनले भने – ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ । हामी महंगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरिदिन सक्छौँ मल कारखानाका लागि ।’

यस अघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित रासायनिक मल कारखाना स्थापनाको प्राराम्भिक अध्ययन समितिले प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने सुझाव सहितको प्रतिवेदन तयार पारेको थियो । ‘सुरु पूँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाको दृष्टिकोणबाट प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना गर्न अन्य प्रविधिको तुलनामा उपयुक्त देखिएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

समितिले विश्वव्यापी रुपमा रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्याँस, थर्मोकोल र वाटर इलेक्ट्रोसिस प्रविधि प्रचलनमा रहेको मध्ये तत्कालका लागि नेपालमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना गर्दा सरकारले उपलब्ध गराउनु पर्ने अनुदान रकम बचत हुन सक्ने निष्कर्ष प्रतिवेदनले निकालेको थियो  ।

सरकारले कृषकहरुलाई रासायनिक मल खरिदमा अनुदान उपलब्ध गराउनका लागि चालू आर्थिक वर्षमा ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५२ अर्ब रुपैयाँ विनियोजन  गरी उपलब्ध गराइएको थियो ।

समितिले प्राकृतिक ग्याँस प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि सुरु लगानी १ खर्ब ३ अर्ब र  वाटर इलेक्ट्रोसिस प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि १ खर्ब ८९ अर्ब रुपैयाँ लाग्ने र थर्मोकोल प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना वातावरणीय लगायतका कारण उपयुक्त नहुने सुझाव समेत दिएको थियो ।

प्रतिवेदनमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित भइ मल उत्पादनका लागि अवसरका रुपमा वार्षिक करिब १६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा प्रयोग गरेर रासायनिक मल आयात गर्नु पर्ने बाध्यताको अन्त्य हुने, व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्ने, कृषकहरुले समयमा मल प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्य हुने लगायत सझाव दिएपछि प्रधानमन्त्रीले मल कारखाना खोल्ने घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *