ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाको संक्रमण न्यूनीकरणका लागि आठ बुँदे निर्णय

काठमाडौं ,चैत १२ । कोरोनाको संक्रमण दर न्यूनीकरणका लागि सरकारले भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने निर्णय गरेको छ । भारत, बेलायत, जर्मनी, फ्रान्स लगायत राष्ट्रमा संक्रमण दर वृद्धि भएको भन्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को निर्देशन समितिले तराई जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने लगायतका आठ बुँदे निर्णय गरेको हो। 

स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनाअनुसार ती क्षेत्रमा केन्द्रबाट अनुगमन समेत गरिने बताइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने, स्वास्थ्य मन्त्रालयले पूर्व तयारी योजना निर्णय समेत सिसिएमसीले गरेको छ। 

हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमा नाकाहरुलाई कोरोनाको संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेका नाका घटाउने तर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्ने सिसिएमसीले जनाएको छ।

यस्तै, नेपाल र भारतबीचका सीमा नाकामा मानिस आउँदा यस पूर्व अपनाएका स्वास्थ्य परीक्षणका मापदण्ड पूर्ण रुपमा पालना गर्न लगाउने, शंकास्पद व्यक्तिको एन्टिजिन परीक्षण गर्ने, परीक्षणमा कोरोना संक्रमण पुष्टि भएमा छुट्टै सवारी साधनको प्रयोग गरी होम आइसोलेसनमा पुर्‍याउने व्यवस्था मिलाउन सिसिएमसीलाई निर्देशन दिने तथा स्थानीय तहबाट होम आइसोलेसनमा निगरानी गराउने व्यवस्था मिलाउने पनि निर्णय भएको छ।

कोभिड संक्रमणबाट जोगिन सचेतना कार्यक्रम अगाडी बढाउने, पर्यटन क्षेत्र अन्तर्गत सञ्चालन हुने रात्रीकालीन कार्यक्रममा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न लगाउने, राती नौ बजेदेखि रात्रीकालीन कार्यक्रम बन्द गर्न लगाउने र यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने व्यवस्था मिलाउने निर्णयमा उल्लेख छ।

विद्यालयहरुमा कोभिड १९ को संक्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना भए नभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत अनुगमन गर्न लगाउने र गृह मन्त्रालयले स्थानीय प्रशासन मार्फत संक्रमणबाट बच्नलाई सचेतनामूलक सूचना जारी गर्ने र सूचनाको परिपालना गराउने व्यवस्था मिलाउने तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई परिचान गर्ने व्यवस्था मिलाउने निर्णय भएको सिसिएमसीले जनाएको छ। 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *