बैकमा खोलिने खाता, खाता नभई जनतासंगको नाता,प्रदेश २ प्रमुख डा. राजेश अहिराज

काठमाडौं,चैत १२ । नेपाल बैंकर्स संघले सातै प्रदेशमा आयोजना गरिरहेको डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत प्रदेश २ को प्रदेश प्रमुखको कार्यलयमा अन्तर्क्रिया सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा प्रदेश नम्वर २ का प्रदेश प्रमुख राजेश अहिराज सहित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहाल लगायत अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रदेश प्रमुख अहिराजले बैकमा खोलिने खाता, खाता नभई जनतासंगको नाता भएको बताएका छन् । आर्थिक रुपमा विपन्न नागरिकलाई संस्थागत सामाजिक उत्तरदायित्व तथा अन्य बैंकिङ्ग सेवाको माध्यमबाट नाता सुदृढ गर्ने र गाउँ टोलसम्म बैंकिङ्ग सेवा विस्तार गरी जनताको घरदैलोसम्म बैंकिङ्ग सेवाको पहुँच विस्तार गर्न आवश्यक रहेको अहिराजले बताएका थिए ।
कृषि क्षेत्रमा स्रोतको अभावलाई पूर्ति गरी किसानलाई खेतीमा सहयोग गर्नुपर्ने भन्दै सरोकारवालाहरुसंग नीतिगत समन्वय गरी बैंकिङ्ग क्षेत्रसंग सहकार्य गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दै यस क्षेत्रमा कार्यरत सबैले उच्च मनोबलका साथ कार्य गर्न उनले निर्देशन दिए ।
उक्त कार्यक्रममा गभर्नरले नेपाल राष्ट्र बैंकले जनताको पूँजीको जिम्मेवारी लिएकोले यसलाई जनताको हितमा अधिकतम उपयोग गर्ने कर्तव्य भएको विचार व्यक्त गर्दै आर्थिक रुपमा विपन्न तर काम गर्न सक्षम र उपयुक्त योजना प्रस्ताव सहित ऋणको अपेक्षा गर्ने जो कोहिलाई पनि निरुत्साहित नगर्ने र प्रदेश २ को उद्यमशीलतालाई प्रवद्र्धन गर्ने प्रतिबद्धता ब्यक्त गरे
साथै, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले प्रदेश प्रमुख तथा कार्यालयको सहयोगले आफुहरु उत्प्रेरित भई बैंकिङ्ग क्षेत्रका कमी कमजोरी हटाउदै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।