ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

धरान ओपन गल्फमा निरज र भुवन शीर्षस्थानमा

धरान, चैत ११ । प्रथम धरान ओपन गल्फ प्रतियोगितामा पहिलो दिनको स्थानीय गल्फर निरज तामाङ र भुवन नगरकोटी शीर्षस्थानमा रहेका छन् ।

धरान गल्फ कोर्षमा बुधबार पहिलो दिन १८ होलको खेल सकिदा निरज र भुवनले ३ अण्डर ६७ स्कोर खेल्दै संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका हुन् । निरजले फ्रन्ट नाइनमा ४ अण्डर ३२ को कार्ड बनाउने क्रममा दोस्रो होल, चौथो होल, छैटौं होल र सातौं होलमा बर्डी गरेका थिए । ब्याक नाइनमा भने १ ओभर ३५ को कार्ड बनाएका निरजले १२ औं र १६ औं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए पनि १३ औं, १७ औं र १८ औं होलमा बुगी खेल्दै स्ट्रोक खेर फालेका थिए ।

यस्तै, फ्रन्ट नाइन ५ अण्डर ३१ को उत्कृष्ट कार्ड बनाएका भुवनले दोस्रो, पाँचौं, छैटौं, सातौं र नवौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाएका थिए । ब्याक नाइनमा भने २ ओभर ३६ कार्ड बनाउने क्रममा उनले १० औं होलमा बर्डी गरेपनि १४ औं होलमा बुगी र १७ औं होलमा डबल बुगी खेपेका थिए । यसैगरि, पहिलो दिन लेभल पार ७० को स्कोर बनाउदै बलभद्र राई(मणी), शुक्रबहादुर राई र जयराम श्रेष्ठ संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् । बलभद्रले फ्रन्ट नाइन लेभल पार ३६ खेले भने ब्याक नाइन पनि लेभल पार ३४ खेलेका थिए ।

शुक्रबहादुरले फ्रन्ट नाइन १ ओभर ३७ कार्ड बनाए पनि ब्याक नाइनमा १ अण्डर ३३ को कार्ड बनाए । जयरामले फ्रन्ट नाइन २ ओभर ३८ कार्ड बनाए पनि ब्याक नाइनमा २ अण्डर ३२ खेलेका थिए । प्रतियोगितामा १ ओभर ७१ स्कोर गर्दै सुर्यप्रसाद शर्मा छैटौं स्थानमा छन् भने २ ओभर ७२ स्कोर गरेका सञ्जय लामा, दिपक आचार्य र कृष्णमान राजबहाक संयुक्त सातौं स्थानमा छन् । एमेच्योरतर्फ २ ओभर ७२ स्कोर गरेका स्थानीय गल्फर युवराज भुजेल शीर्षस्थानमा छन् भने ५ ओभर ७५ स्कोर गर्दै राजकुमार राई एमेच्योरतर्फ दोस्रो स्थानमा छन् ।

धरान गल्फ क्लबको आयोजना शुरु भएको प्रतियोगितामा कुल ४३ खेलाडीहरु सहभागी छन् । ती मध्ये ३२ जना प्रोफेस्नल र ११ जना एमेच्योर खेलाडीहरु छन् ।सुर्य नेपाल गल्फ टुरअन्तर्गतको प्रतियोगिता पछि कुनै पनि गल्फ क्लबले प्रोफेस्नल खेलाडीहरुसमेतको लागि आयोजना गरेको यो नेपालकै पहिलो प्रतियोगिता हो । चार दिने प्रतियोगितामा ३ दिन मुख्य स्पर्धा हुनेछ भने अन्तिम दिन प्रो–एम म्याच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *