ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरेको आज एक बर्ष पुरा

काठमाडौं,चैत ११ । नेपालमा गत वर्ष कोरोना रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ । यो अवधिमा कोरोना संक्रमण उच्च हुँदै न्यून विन्दुमा पुगेको ठानिएपनि भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ ।

चिकित्सक एवं विज्ञहरुले विगतका गल्तीबाट पाठ सिकेर रोकथामका कदम चाल्नुपर्ने बताएका छन् ।
नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिने जोखिम बढेपछि अत्यावश्यक बाहेकका क्षेत्र बन्द गरेर लकडाउन गरिएको बुधबार एक बर्ष पुगेको छ ।

नेपालमा गत वर्षको माघमा पहिलो संक्रमित दोश्रो संक्रमित भेटिन तीन महिना लागेको थियो । चैत १० गते फ्रान्सबाट नेपाल आएकी १८ बर्षिय एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि भोलीपल्टै सरकारले देश व्यापी लकडाउनको घोषणा गरेको थियो ।

यो अवधिमा नेपालमा २ लाख ७६ हजार मानिस कोरोना संक्रमित बनेका छन् भने ३ हजार भन्दा बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ९८ दशमलव ६ प्रतिशत निको भएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।


लकडाउनको एक वर्षपछि भारतमा कोरोना बढेकाले फेरि जोखिम बढेको छ । गत वर्ष हवाई मार्ग र स्थल मार्ग भएर नेपाल आउनेलाई गरिएको ‘फरक मापदण्ड’ले लकडाउनको अवस्थामा पुर्‍याएको विज्ञको भनाइ छ। तेस्रो र दोस्रो लहरको मार खेपिरहेका मुलुकबाट स्वदेश छिर्नेलाई गत वर्षको गल्ती नदोहोर्‍याई समान मापदण्ड कायम गर्नुपर्ने उनीहरूको सुझाव छ ।

कोरोना जोखिम कायमै रहेको बेला सरकार सतर्क नबनेको भन्दै आलोचना सुरु भएको छ । ८८ वटा प्रयोगशाला घटाएर अहिले ३० वटामात्र सञ्चालन भैरहेको छ । कोरोना संक्रमितको उपचार अस्पतालहरुको संख्या पनि घटाइएको छ ।

महामारीको त्रास कम नभएकै बेला नेपालमा राजनीतिक रुपमा भएको नारा जुलुस र सभा सम्मेलनले झनै जोखिम बढाएको ठानिएको छ । भारत सरकारको अनुदानमा आएको १० लाख डोज कोरोन विरुद्धको खोप पहिलो चरणमा प्रयोग गरिएको छ ।

फागुन २३ गतेबाट दोश्रो चरणको खोप अभियानमा ६५ बर्ष माथिका जेष्ठ नागरीकहरु समावेश गरी खोप अभियान सन्चालन गरेपनि सरकारले खरिद गरेको १० लाख खोप नआइपुग्दा प्राथमिकतामा परेका नागरीकले खोप पाएका छैनन् ।

खोप अभियान नै स्थगित गर्ने अवस्था छ ।
त्यस्तै चीनले अनुदान स्वरुप दिने भनेको ८ लाख डोज खोप पनि नेपाल सरकारले आवश्यक पहल नगर्दा बेइजीङ बिमानस्थलमा नै रोकिरहेको छ । नेपालमा कोभिडका कारण पर्यटन, अनि साना तथा मझौला व्यवसाय धेरै प्रभावित भएका छन् ।
प्रत्यक्ष साढे चार लाख अनि अप्रत्यक्षसमेत गरी ११ लाख मानिस आश्रित पर्यटन क्षेत्र धराशायी जस्तै भएको छ ।
पर्यटनमा आश्रित उद्योगव्यवसाय आन्तरिक पर्यटकहरूका भरमा जेनतेन चलिरहेका छन् ।

अचानक आइपरेको कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न अपनाइएका लकडाउन जस्ता उपायका कारण आर्थिक वर्ष २०७६/७७ को कुल गार्हस्थ्य उत्पादन जीडीपीको वृद्धि वा आर्थिक वृद्धिदर झन्डै दुई प्रतिशतले ऋणात्मक हुनपुगेको छ । सबै कुरालाई दृष्टिगत गरी अर्को महामारीको अवस्था आउन नदिन सरकार चनाखो हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *