राजस्व अनुगमनमा काठमाडौं महानगर

काठमाडौँ चैत्र ९ । काठमाडौँ महानगरको राजस्व विभागले बजार अनुगमन थालेको छ । आईतबारबाट विभागका प्रमुख डा. शिवराज अधिकारीको नेतृत्वमा थालिएको अनुगमनका क्रममा कर तिर्नेलाई धन्यवाद पत्र र नतिर्नेलाई विभागमा हाजिर हुने पत्र थमाउने गरिएको छ ।
व्यवसाय दर्ता नगर्ने, वहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शंका लागेका व्यवसायीलाई ७ दिनको समय दिएर विभाग बोलाइएको हो ।
टोलीले आइृतबार न्यूरोड क्षेत्रको बजारको अनुगमन गरेको थियो । भने सोमबार वडा नम्बर २ को लाजिम्पाटदेखि पानी पोखरी, महाराजगञ्जसम्मका मुल सडक किनारामा रहेका पसलहरुको प्रतिनिधिमुलक रुपमा अनुगमन गरिएको थियो ।
व्यवसाय दर्ता र नविकरण, बहाल कर, सम्पत्ति करलगायत महानगरलाई तिर्नु बुझाउने पर्ने कर तिरे नतिरेको अनुगमनका क्रममा हेरिएको थियो ।
एउटै घरका दुईवटा सटरको भाडा दर धेरै रकमले तलमाथि देखियो । एउटा सटरको भाडा १० हजार रुपैयाँ, अर्कोको २० हजार रुपैयाँ र छिमेकीको ४० हजार रुपैयाँ छ । अनुगमनबाट प्राप्त अवस्थाका बारेमा जानकारी दिँदै राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले भने ‘भाडा दरमा यति धेरै तलमाथि हुनुलाई हामीले राजस्व असुली र राजस्व प्रशासनका कोणबाट गम्भीरताका साथ हेरेका छौँ ।
जागरणमुलक र शिक्षामुलक कार्यक्रमबाट करदातालाई करका विषयमा जानकारी दिन्छौं र कानुनले दिएको अधिकार प्रयोग गरेर राजस्व असुली गर्ने अबको हाम्रो योजना हो ।’
व्यवसाय दर्ताको अवस्था ठीकै छ । व्यवसाय कर तिर्नेको तुलनामा बहाल कर तिर्ने करदाताको संख्या कम छ । विभागका उपनिर्देशक विकास चित्रकारले अवस्थाका बारेमा जानकारी दिनुभयो ।
विभागको अनुगमनमा सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रहरी, विभाग र वडाका कर्मचारी रहेका छन् । प्रतिनिधिमुलक यो अनुगमनपछि वडास्तरबाट अनुगमन टोली परिचालन गर्ने विभागले योजना बनाएको छ ।