ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

४१ बर्ष पछि छोरो त आयो तर बोली आएन

इलाम चैत्र ८ । इलामको माई नगरपालिका-१० लुम्बाककी ८५ बर्षीया धनमाया तिम्सिनाले करिब ४१ बर्ष पछि आफ्नो हराएको छोरो पाइन् । बिना सुनुवाई ४१ वर्ष भारतीय जेलमा राखिएका दुर्गाप्रसाद तिम्सिना(दीपक जैसी) जेलमुक्त भएपछि पहिलो पटक घर पुग्दा परिवारमा हर्षको सिमा रहेन । करिव ४१ बर्ष पहिला मंगलबारेमा तोरी बेच्न पुगेका दुर्गा करीव ४१ बर्ष पछि घर फर्किए । तिनै धनमायाको तोरी बेच्न मंगलबारे हिडेको साईलो यति लामो समयपछि घर फर्कदा उनको खुशीको सिमा छैन ।

४१ वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका तिम्सिना काँकडभिट्टा हुँदै नेपाल भित्रिएपछि घरपरिवार र गाउँघरमा खुशीयाली छाएको छ । श्रीमान चम्पाखर र माइँलो छोरा केदारलाई गुमाइसकेकी धनमाया ४१ बर्षपछि फर्किइको साइँलो छोराको आगमनले धनमायाको खुशीको सिमा छैन । १९ वर्षको उमेरमा तोरी बेच्न पश्चिम इलामको मङ्गलबारे बजार जाने निहुँले दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा उसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो । खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आउन सकेन ।

विसं २०६९ मा दीपक जैशी नामबाट घरमा एउटा चिठ्ठी आएको थियो । जेलमा बस्दा उनले आफ्नो नाम दीपक र थर जैशी भनेको हुँदा चिठ्ठी त्यसरी पठाइएको रहेछ । तर यता घरमा भने बेपत्ता रहेका दुर्गाप्रसादको बारेमा कसैले मजाक गरेर चिठ्ठी पठाएको हो कि भन्ने लाग्यो । चिठ्ठीको सत्यता जाँच्न परिवारका सदस्यहरु भारत जान सकिरहेका थिएनन् । दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका दाधेश्याम दास नाम कैदीले दुर्गाप्रसादको अवस्था र पहिचानबारे पहिलोपल्ट जेल बाहिर खबर ल्याएका थिए । दासले बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाइ बसिरहेको खबर पुर्‍याएपछि मिडियामा समाचार छापिन थालेका हुन् ।

उनलाई अहिले जेल बाहिर ल्याउन रेडियो क्लबको भूमिका महत्वपूर्ण रहेको छ । दार्जिलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बसेका थिए , त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उनीमाथि थोपरिएको थियो । तर उनमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ । आइतबार निलो कुर्ता, सेता सुरुवाल र ढाका टोपीमा सजिएर घर पुगेका दुर्गाप्रसादको घाँटीमा गाउँले, आफन्तले लगाइदिएका माला र खादा लगाएर घर पुगेपनि आफ्नी आमासंग उनको दोहोरो संवाद हुन सकेन । मानसिक अवस्था कमजोर भएको भन्दै भारतको अदालतले जेलमुक्त दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *