सर्त सहितको सरकार निर्माणको विपक्षमा सभापति देउवा, वरिष्ठ नेता भन्छन् – जसरी भएपनि ओलीको विकल्प दिउ
काठमाडौं चैत्र ८ । सरकार परिवर्तनको विषय चलिरहेका समयमा प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पार्टी बनाउन लाग्नुपर्ने बताएका छन् । शनिवार चितवन पुगेका देउवाको भनाई छ-‘प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ। टाउकामा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन।’
सरकारमा जाने विषय हतारको विषय नभएको भन्दै सभापति देउवाले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको भन्दै अन्य दलको कदम अनुसरा आफुहरुले रणनीति तयार पार्ने जनाए । ‘मधेशवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष कसरी अगाडि बढ्छन्। त्यो हेर्नुपर्छ।’ उनको भनाई थियो । कांग्रेस भित्रको आन्तरिक विवाद टुङ्गो लगाएर अघि बढ्ने बताएका देउवाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । ‘जनता मालिक हुन्। नोकर होइनन्। भाषण गरेर मत दिँदैनन्। जनताको सुख दुःखमा साथ दिनुस्। निर्वाचन जितिन्छ।’ उनको भनाई छ ।
यता वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारबाट देशलाई मुक्त बनाउनु पर्ने जनाएका छन् । शनिवार आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा राजनीतिक अन्यौलता भएको भन्दै त्यसलाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने बताए ।
उनले यस विषयमा नेतृत्वले निर्णय लिन नसकेको समेत आरोप लगाए । उनको भनाई छ- ‘अहिलेको संसदमा रहेको हाम्रो पार्टीको नेतृत्वले गर्ने काम, संसदमा रहेका पार्टीहरुमध्ये को–को सँग मिलाएर/मिलेर के गरेर हुन्छ, कसैलाई अगाडि बढाएर हुन्छ कि, आफू अगाडि बढेर हुन्छ कि अहिलेको केपी ओली जसले यत्रो ठुलो उत्पात गरे, उधुम गरे, तिनको विकल्पमा नयाँ सशक्त विकल्प नेपाली कांग्रेसले प्रस्तुत गर्नका लागि समायोजनको संयोजकको भुमिका नेपाली कांग्रेसजस्तो पार्टीले खेल्नुपर्छ। देशलाई ठिक दिशा दिने हैसियत राख्नुपर्छ। देशलाई अन्यौलमा राख्ने होइन। अहिलेको अन्यौललाई अन्त्य गर्ने हैसियत नेपाली कांग्रेसले राख्नु पर्छ। नेपाली कांग्रेसको नेतृत्वले राख्नुपर्छ। नेपाली कांग्रेसको नेतृत्वले राष्ट्रको नेतृत्व दिने यस्तै बेलामा हो।’
सभापति देउवाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिदै गर्दा वरिष्ठ नेता पौडेलले भने कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने बताए । संसदमा भएका शक्तिहरुलाई समायोजन गरेरै विकल्प नरहेको बताउने पौडेलले – ‘अदालतको फैसलाले पाँच वर्ष नभई चुनाव गर्ने अनुमति दिँदैन। संसद फेरि विघटन गर्ने कहीँ पनि ठाउँ छैन। त्यस्तो बेलामा मंसिरमा चुनाव गर्छु, आउँदो फागुनमा चुनाव गर्छु भन्दै हिड्ने? कहाँनेर कता फस्दै गयौँ हामी? कसले फसाउन खोज्यो? हामीले अहिले चुनावको कुरा होइन, यही संसदलाई कसरी उपयोग गर्ने, यही संसदमा भएका शक्तिहरुलाई समायोजन गरेर अहिले विकल्प दिने हो।’ भने ।
यसरी सभापति र वरिष्ठ नेताका विच फरक फरक मत प्रस्तुत भएका समयमा सहमहामन्त्री डा प्रकाशशरण महतले हातखुट्टा बाधेर सरकारमा नजाने दावी गरेका छन् । जसपाले सरकार निर्माणका लागि सर्त राखेको विषयलाई लक्षीत गर्दै महतले भने -, ‘कांग्रेस सरकारमा जान्छ तर हात खुट्टा बाँधेर सरकारमा जाँदैन । कांग्रेसले सेवा सर्त पूरा गरेर सरकारको नेतृत्वमा जाँदैन ।’