व्यवसायीलाई वरिष्ठ उपाध्यक्ष ढकालको सुझाव– ‘सिङ्गल डिजिट’ ब्याजदरको उपयोग गर्नुस्, लगानी बढाउनुस्

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर सिङ्गल डिजिटमा रहेको नेपालका बैंक तथा वित्तीय संस्थाको ब्याजदरको उपयोग गर्न र औद्योगिक तथा व्यावसायिक क्रियाकलापमा लगानी बढाउन नेपालका उद्योगी व्यवसायीहरुलाई सुझाउनुभएको छ ।
विर्तामोड उद्योग वाणिज्य संघको सपथ ग्रहण तथा पद हस्तान्तरण सभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– नेपालका व्यवसायी साथीहरुलाई मेरो यो आग्रह छ कि अहिले नेपालमा ब्याजदर सिंगल डिजिटमा छ, यसको सदुपयोग गर्नुस र आर्थिक क्रियाकलापहरुमा लगानी बढाउनुस् । अहिलेको बेला भनेको यस्तो अवस्थामा व्यावसायिक क्रियाकलापहरुमा लगानी गर्ने र उद्योग व्यवसायलाई सस्टेन गर्न सघाउने समय हो, त्यसैले हामी सबैले अहिलेको यो नीतिबाट लगानी बढाउने काममा लाभ लिन सक्छौँ– उहाँले भन्नुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले यो ब्याजदरका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग लबिङ गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– नेपालमा लगानी गर्न र व्यावसायिक एक्टिभिटिजहरु बढाउनका लागि बैंकको ब्याजदर बढी भएको भनी निजी क्षेत्रले आवाज उठाएपछि अहिले ब्याजदर सिंगल डिजिटमा आएको छ । उहाँले स्मरण गर्नुभयो– म एक कमर्सियल बैंकको अध्यक्ष भए पनि यो मेरो पनि एउटा प्रमुख मुद्दा थियो, म एक उद्यमी पनि भएको हिसाबले यसका लागि म व्यक्तिगत रुपमा पनि लागेको थिएँ, हाम्रो लबिङपछि यो नीति सम्भव भएको हो । त्यसैले यो अवसरबाट हामीले लाभ लिनसक्ने अवस्था छ र हामी निजी क्षेत्रका प्रतिनिधिहरु यसबाट लाभान्वित पनि हुनसक्नुपर्छ, यो अवस्था साँच्चिकै देशका उद्योगी, व्यवसायीहरुले लाभ लिने नै बेला हो, उहाँले भन्नुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले झापा होस् या देशका अरु पनि क्षेत्र या जिल्लाका व्यवसायीले त्यहाँका स्थानीय सम्भावना र अवसरहरुलाई राम्रोसँग खोजी गर्नुपर्ने पनि बताउनुभयो ।
व्यावसायिक तथा आर्थिक क्रियाकलापको अभिबृद्धिका लागि तथा उद्यमशिलताको विकास र विस्तारका लागि हामी व्यवसायीहरुले आ–आफ्ना स्थानीय स्थान र स्तरमा पनि अवसर र सम्भावना खोज्नुपर्छ, यसैबाट शुरु हुने उद्यमशिलताले नै देशको विकास सम्भव छ । उहाँले नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले ‘भिजन २०३०’ पेपर अघि सारेर मुलुकको निजी क्षेत्रका आवश्यकता र प्राथमिकता निर्धारण गरेर अघि बढ्ने नीति अख्तियार गरेको बताउँदै सो पत्रलाई प्रदेशस्तरमा पनि छलफलका लागि ल्याइने र त्यसमा निजी क्षेत्रका सबै साथीहरुको सुझावहरु समेटिने जानकारी दिनुभयो ।