एनएस्एल अक्सन: सुजल सहित ८ खेलाडी महँगो मुल्यमा बिक्री

काठमाडौं चैत्र ६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा फुटबलबाट स्वर्ण पदक दिलाएका कप्तान सुजल श्रेष्ठ सहित ८ खेलाडी नेपाल सुपर लिगमा सर्वाधिक मूल्यमा विक्री भएका छन् ।
शुक्रबार भएको अक्सनमा ए, बी, सी गरि ३ श्रेणीमा विभाजन गरिएको थियो । ए श्रेणीका खेलाडीका लागि न्यूनत्तम १ लाख र अधिक्तम २ लाख रुपैयाँ तोकिएको थियो । सुजल सहित तेज तामाङ, सुनिल वल, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट र विशाल सुनुवार सर्वाधिक महँगो मूल्यमा विभिन्न क्लबमा अनुबन्ध भएका हुन् । मिडफिल्डर सुजल र गोलकिपर दीप पोखरा थन्डर्स अनुबन्धित हुँदा डिफेन्डर विकास खवास र गोलकिपर विशाल एफसी चितवनमा, तेज काठमाडौं रेजर्समा अनुबन्धित भएका हुन् । यस्तै डिफेन्डर दिनेश धनगढी एफसी र मिडफिल्डर एरिक विष्ट ललितपुर सिटीले महगो मूल्यमा भित्रयाएको हो । ए श्रेणीमा रहेका उनीहरुलाई क्लबले २ लाखमा अनुबन्ध गरेको हो ।



यस्तै ए श्रेणीमा रहेका राष्ट्रिय टोलीका मिडफिल्ड रविशंकर पासवान सहित विराज महर्जन, जर्ज प्रिन्स कार्की, छिरिङ गुरुङ, हेमन्त थापा मगर, सुबास गुरुङ, दिलेन लोक्तानलाई कुनै पनि टोलीले लिएनन । नेपाल इभेन्ट्स प्रालिको आयोजना हुन लागेको नेपाल सुपर लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अक्सनका लागि १ सय ४९ जना खेलाडीलाई विभिन्न श्रेणीमा बर्गीकरण गरेको थियो । जसमा ए मा २८, बीमा ६३ र सी मा ५८ खेलाडी रहेका थिए ।
बी श्रेणीका खेलाडीका लागि न्यून्तम ५० हजारदेखि अधिक्तम १ लाख २० हजार तथा सी श्रेणीका लागि कम्तीमा २० हजार र बढीमा ७५ हजार रुपैयाँ तोकिएको थियो ।अक्सनमा एउटा टोलीले कम्तीमा १० लाख र बढीमा १५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउथे । त्यसमा ए श्रेणीका ३, बी श्रेणीका ४ देखि ६ र सी श्रेणीका ५ देखि ७ खेलाडी किन्न पाउने प्रावधान थियो ।


नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगितामा विभिन्न ७ सहरका टोलीले सहभागिता जनाउँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ ।

